इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीलाई स्वागत गरिएको छ। गाउँपालिकाले सोमबार कार्यक्रम आयोजना गर्दै अधिकृत अधिकारीलाई स्वागत गर्दै कार्यालयका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहकार्यको अपेक्षा राखे। उनले भने, “हाम्रो लक्ष्य नागरिकलाई सहज र छरितो सेवा प्रदान गर्नु हो। गाउँपालिकाको समग्र विकासका लागि प्रशासकीय नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने भएकाले हामी पूर्ण रूपमा सहकार्यका लागि प्रतिबद्ध छौं।”
प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रतिबद्धता जनाए। उनले भने, “गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन, विकास योजनालाई तीव्रता दिन तथा स्थानीय सरकारको उद्देश्य अनुसार कार्य गर्न म पूर्ण रूपमा तयार छु। जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको सहकार्य नै सफलता प्राप्त गर्ने आधार हुनेछ।”
परिचयात्मक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा अध्यक्षहरू, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले गाउँपालिकाको वर्तमान सेवा प्रवाह, विकास योजनाहरू तथा भावी योजनाबारे नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएका थिए।
गाउँपालिकाले जनसेवामा नवीनतम प्रविधिको प्रयोग गर्दै थप सहजता ल्याउने योजनाका साथ कार्य अघि बढाउने जनाएको छ ।










Discussion about this post