बिराटनगर । भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना नेपाली विद्यार्थी विराटनगरको रानी नाका हुँदै स्वदेश फर्किएका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज ७५ जना विद्यार्थी फर्किएका जानकारी दिएको छ।
यसअघि मंगलबार तीन जना विद्यार्थी घर फर्किएका थिए। रानी नाका प्रशासनले स्वदेश फर्किएका विद्यार्थीलाई घर पठाउन सहजीकरण पनि गरेको थियो।
केआईआईटीको छात्रावासमा बुटवलकी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिले असहज बनेपछि विद्यार्थी विश्वविद्यालय छाडेर घर फर्किएका हुन्।
स्वदेश फर्किएका विद्यार्थीहरूमा मोरङका ३६ जना, सप्तरीका १६ जना, सुनसरीका ११, काठमाडौं र सिरहाका ३-३, सर्लाही र धनुषाका २-२, ललितपुरका १ र उदयपुरका १ जना रहेका छन्।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार विद्यार्थीहरूलाई सुरक्षात्मक उपाय अपनाउँदै सुरक्षित रूपमा आवागमनको व्यवस्था गरिएको थियो। नेपाली विद्यार्थीहरूलाई सीमा नाकामा आवश्यक प्रक्रिया पूरा गरेपछि सम्बन्धित स्थानीय तहमा पठाइएको छ।
विद्यार्थीहरूले विश्वविद्यालयमा उत्पन्न भय र असुरक्षाका कारण घर फर्किन बाध्य भएको बताएका छन्। मृत्युपछिको अवस्थाले मानसिक तनाव सिर्जना भएको र विश्वविद्यालय प्रशासनले पर्याप्त सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो विद्यार्थीहरूको छ।
रानी नाका प्रशासनका अनुसार विद्यार्थीहरूलाई सीमा क्षेत्रमा कुनै अवरोध बेहोर्नु नपरोस् भन्नका लागि सहजीकरण गरिएको हो। सीमा नाका भएर आएका विद्यार्थीहरूलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यमा पठाउन सहयोग पुर्याएका छन्।
विद्यार्थीहरूको स्वदेश फिर्तीलाई लिएर अभिभावकहरूमा केही राहत महसुस भएको छ। उनीहरूले सम्बन्धित निकायलाई धन्यवाद दिंदै विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।










Discussion about this post