दिपेन्द्र यादव/सुनसरी। ‘गुणस्तरीय शिक्षाको सुनिश्चितता, सामुदायिक सहभागिताको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ भाेक्राहा नरसिंह गाउँपालिका-४ चिरौलीस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा नव निर्मित चारकोठे पक्की भवनको समुद्घाटन गरिएको छ।
विद्यालयको प्राङ्गणमा एक विशेष समारोह आयोजना गरी बिहीबार उक्त भवनको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समुद्घाटन समारोहको अध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष हारूण अन्सारीले गरेका थिए भने प्रमुख अतिथि भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद रहेका थिए। कार्यक्रममा शिक्षा समय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी, उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल, जसपा नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र प्रसाद यादव, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अन्सारी, स्थानीय युवा नेता पंकज यादव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रधानाध्यापक कटुवालका अनुसार नव निर्मित भवनको निर्माणले विद्यालयमा भौतिक संरचनाको अभावलाई न्यूनीकरण गर्दै शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने छ। ‘गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने आवश्यकताले विद्यालयलाई थप भौतिक पूर्वाधार आवश्यक थियो। अब, नयाँ भवनले विद्यार्थीलाई राम्रो सिकाइ वातावरण प्रदान गर्नेछ,’ उनले भने।
त्यसैगरी विद्यालयका संरचनागत सुधारका लागि स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा सरकारको सहकार्य अपरिहार्य रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘गाउँपालिकाले गुणस्तरीय शिक्षाको लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।’ उपाध्यक्ष सुनिता उराँवले पनि विद्यालयको विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
वडाध्यक्ष अन्सारीका अनुसार विद्यालयको भौतिक संरचना विस्तार गर्दै विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्नु प्रमुख उद्देश्य हो। उनले भने, ‘नयाँ भवनले विद्यार्थीलाई सहज र व्यवस्थित अध्ययन वातावरण प्रदान गर्नेछ।’ प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आजादले गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्वाधार विकासमा निरन्तर जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए। उनले भने, ‘समुदायको संलग्नता र स्थानीय सरकारको पहलबाट मात्र शिक्षाको स्तर उकास्न सकिन्छ।’
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पुस्तकालय, कम्प्युटर ल्याव र विज्ञान प्रयोगशाला निर्माण गर्ने योजना बनाएको छ। यसका लागि गाउँपालिका तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको विद्यालय स्रोतले जनाएको छ।
उक्त समारोहमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै उत्साहजनक वातावरण सिर्जना गरेका थिए। समुदायको सहयोगमा सञ्चालित विद्यालयमा यस प्रकारको नयाँ संरचना थपिनु सकारात्मक भएको अभिभावकहरूले बताए।
समुद्घाटन समारोहपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबीच शिक्षा सुधार तथा विद्यालय विकासका विविध पक्षबारे छलफल समेत गरिएको थियो।










Discussion about this post