सुनसरी — सुनसरीको कोशी गाउँपालिकास्थित सप्तकोशी कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको छ। हाँस पालन गरिएको उक्त फर्ममा पछिल्लो समय हाँसहरू धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको हो।
बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले उक्त क्षेत्रमा रोग नियन्त्रणका लागि चार किल्ला तोकेर सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै फार्मलाई केन्द्र मान्दै पूर्वतर्फ ५० मिटर, पश्चिमतर्फ २०० मिटर, उत्तरतर्फ १५० मिटर र दक्षिणतर्फ ३०० मिटरको दूरीमा नियन्त्रण क्षेत्र तोकिएको जनाएको छ।
नियन्त्रण प्रक्रिया तीव्र
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सप्तकोशी कृषि फर्ममा पालिएका ५०० वटा अण्डा पार्ने ठूला हाँसमध्ये २५० वटा र ४५० वटा बच्चा हाँसमध्ये २५० वटा मरेका छन्। “संक्रमण फैलिन नदिन उक्त क्षेत्र शिल गरिएको छ। बाँकी हाँस र कुखुरा नष्ट गर्न मन्त्रालयको निर्देशनअनुसार कार्य भइरहेको छ,” उनले नागरिकसँग कुरा गर्दै बताए।
महतोका अनुसार गत फागुन २ गते नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालाको परीक्षणबाट बर्डफ्लु पुष्टि भएको हो। “सुरुमै लक्षण स्पष्ट देखिँदैन, तर एकैपटक ठूलो संख्यामा मर्ने भएकाले सतर्क रहन आवश्यक छ,” उनले थपे।
बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक डाकेर रोकथाम तथा नियन्त्रणका उपायहरूबारे छलफल गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सरोकारवालासँगको छलफलपछि प्रभावित क्षेत्रमा अनुगमन गरिएको छ।
“तत्काल फर्मभित्र रहेका कुखुरा र हाँस नष्ट गरिनेछ। संक्रमण अन्यत्र फैलिन नदिन सुरक्षात्मक उपाय अपनाइँदैछ,” प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। उनले सीमा नाकामा चेकजाँच कडा पार्ने निर्णय भएको जानकारी दिए।
बर्डफ्लु नियन्त्रणका लागि बनेको नियमावलीअनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति सक्रिय भइसकेको छ। काठमाडौँबाट विज्ञ टोली आउने तयारीमा रहेको र आसपासका अन्य फर्महरूमा पनि नमुना संकलन गरी परीक्षण गरिने बताइएको छ।
विशेषज्ञहरूका अनुसार हाँसमा संक्रमण देखिएपछि कुखुरासमेत उच्च जोखिममा पर्ने भएकाले जैविक सुरक्षाका उपायहरू अपनाउन किसानलाई आग्रह गरिएको छ। संक्रमित हाँसबाट अन्य पशुपंक्षीमा संक्रमण सर्ने दर तीव्र हुने भएकाले सरकारले थप सतर्कता अपनाएको छ।
स्थानीय प्रशासनले नागरिकहरूलाई बर्डफ्लु संक्रमणको त्रास नफैलिन अनुरोध गर्दै रोग नियन्त्रण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।










Discussion about this post