काठमाडौं – भारतको ओडिसा, भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको विषयमा सांसद स्वर्णिम वाग्लेले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वाग्लेले प्रयोग गरेका शब्दलाई संसदीय नियमावली विपरीत रहेको भन्दै हटाउन माग गरेका थिए।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद खतिवडाले वाग्लेले मृतक लम्साललाई श्रद्धाञ्जली दिनुपर्नेमा ‘परिवारलाई श्रद्धाञ्जली’ दिएको भन्दै आपत्ति जनाएका थिए। उनले फागुन ६ गते वाग्लेले संसद्मा बोलेका शब्द हटाउनुपर्ने माग राखेका थिए। खतिवडाले भने, “प्रकृति लम्सालको निधनले हामी सबै चिन्तित छौं, तर एकजना माननीयले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसद्मा रेकर्ड गराउनु भएको छ। सो शब्द हटाइनुपर्छ।”
फागुन ६ गतेको बैठकमा सांसद वाग्लेले भनेका थिए, “केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ। परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।”
सांसद खतिवडाले उक्त शब्दावली संसदीय मर्यादाअनुसार नमिल्ने भन्दै ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।










Discussion about this post