दिपेन्द्र यादव/इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई नगर प्रमुख वेद नारायण गच्छदारसहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका छन्।
नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गच्छदारले नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले नगरपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह, र सुशासनलाई अझ सुदृढ बनाउने लक्ष्यसहित सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले आफू दुहबी नगरपालिकामा सरुवा भएकोमा खुसी व्यक्त गर्दै नगरबासीको सेवा र नगरपालिकाको संस्थागत विकासमा पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए। उनले पारदर्शी प्रशासन, प्रविधिमैत्री सेवा, र स्थानीय सरकारको प्रभावकारिता वृद्धि गर्न आफूले विशेष ध्यान दिने उल्लेख गरेका छन् ।
यसअघि सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय, चिराैलीमा अढाई वर्षसम्म प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका घिमिरे हालै उपसचिवमा बढुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा दुहबी नगरपालिकामा गरेको हो।
स्वागत कार्यक्रममा नगरपालिकाका उपप्रमुख, विभिन्न वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नगरपालिकाको विकास, सुशासन, र नागरिक सेवाका विषयमा छलफल गर्दै नव प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।










Discussion about this post