जिन्नी चाैधरी/सुनसरी । कोशी प्रदेशको माटो अत्यधिक अम्लीय बन्दै गएको पाइएको छ। प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशाला, झुम्काले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा परीक्षण गरिएका माटो नमुनामध्ये ८६ प्रतिशतमा अम्लीयपन देखिएको छ।
प्रयोगशालाले गत आर्थिक वर्षमा ४ हजार २ सय ४१ नमुना परीक्षण गरेको थियो, जसमा १ प्रतिशत माटोमा क्षारीयपन तथा १३ प्रतिशतमा तटस्थता पाइएको छ। यसअघि, आर्थिक वर्ष २०७९/८० मा गरिएको परीक्षणमा ८५ प्रतिशत माटो अम्लीय रहेको निष्कर्ष निकालिएको थियो। माटो परीक्षणविनै हाइब्रिड बाली लगाउने प्रवृत्ति, असन्तुलित रासायनिक मल प्रयोगजस्ता कारणले माटोको उर्वराशक्ति निरन्तर घट्दै गएको प्रयोगशालाका सूचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताए।
अम्लीयपन सुधारका उपाय
माटोमा अम्लीयपन वृद्धिले उत्पादन घट्दै गएको माटो विज्ञहरूको निष्कर्ष छ। साधारणतया ६.५ देखि ७.५ पिएचमान भएको माटो तटस्थ मानिन्छ। ६.५ भन्दा कम पिएचमान भएको माटो अम्लीय तथा ७.५ भन्दा माथिको माटो क्षारीय मानिन्छ।
अम्लीय माटो सुधार गर्न कृषि चुन तथा प्रशस्त जैविक मल प्रयोग गर्नुपर्ने माटोविज्ञ दिगम्बर यादव बताउँछन्। “हाम्रो परिवेशमा माटो सुधारका लागि कृषि चुन तथा जैविक मल नै प्रभावकारी उपाय हुन्,” उनले भने।
गुणस्तरहीन मल सुधारको चुनौती
माटो सुधारका लागि जैविक मलको उपयोग महत्वपूर्ण भए पनि बजारमा उपलब्ध अधिकांश मल मापदण्डविपरीत रहेको प्रतिवेदनले देखाएको छ। २०८०/८१ मा परीक्षण गरिएका ४२ जैविक मल नमुनामध्ये ८३ प्रतिशत गुणस्तरहीन पाइएका छन्। त्यस्तै, ४० प्रतिशत रासायनिक मल समेत मापदण्डविपरीत रहेको प्रतिवेदनमा उल्लेख छ।
मापदण्डअनुसार जैविक मलमा नाइट्रोजन १%, फस्फोरस ०.५%, पोटास १%, चिस्यान २०%, प्राङ्गारिक कार्बन २०% तथा पिएच ६.०–८.० हुनुपर्ने हुन्छ। तर, बजारमा बिक्री हुने मलहरू यो मापदण्ड पूरा गर्न नसकेको विज्ञ यादव बताउँछन्।
“गुणस्तरहीन मल उत्पादनलाई नियन्त्रण गर्न राज्यका सबै तह सक्रिय हुनुपर्छ। कृषकलाई माटो परीक्षणका आधारमा उचित मल प्रयोग गर्न तालिम दिनुपर्छ,” उनले भने। विज्ञहरूका अनुसार गुणस्तरीय मल प्रयोग तथा माटो परीक्षण प्रणालीलाई सुदृढ नगरे माटोको उर्वराशक्ति झन् खस्किने खतरा रहेको छ।










Discussion about this post