इनरुवा – हिन्दू धर्मावलम्बीहरूका लागि अति महत्वपूर्ण मानिने महाशिवरात्रि पर्व आज सुनसरीका विभिन्न शिवालयहरूमा धुमधामसहित मनाइँदै छ। महादेवको विशेष आराधना गरिने यस दिनमा जिल्लाका मुख्य शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
सुनसरीको इटहरीस्थित बुढीशिवालय मन्दिर, धरानको पिण्डेश्वर महादेव मन्दिर, दुहबीको श्रीपुरेश्वर धाम, इनरुवाको श्रीराम जानकी शिव मन्दिर, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ स्थित आपरूपी स्थापित भएको नरसिंह महादेव, माधवनारायण मन्दिर, शिव मन्दिर, हरिनगरको मिथलेशवर महादेव, कुशाहा महादेव मन्दिर, तथा कोशी गाउँपालिकाको श्रीकोटी महादेव मन्दिरलगायतका स्थानहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ।
महाशिवरात्रिका अवसरमा मठमन्दिरहरूमा विशेष पूजा, अभिषेक, रुद्री पाठ तथा रातभर जागरण आयोजना गरिएको छ। स्थानीय युवा समूहहरूले धूप, बत्ती तथा अन्य धार्मिक सामग्रीको व्यवस्थापन गरिरहेका छन्। धरानको पिण्डेश्वर महादेव मन्दिरमा जल चढाउन आएका श्रद्धालुहरूले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सप्तकोशी नदीबाट गंगाजल ल्याएर पूजा गर्ने परम्परा निभाएका छन्।
शिवरात्रिमा विशेषगरी व्रत बस्ने, व्रत कथाहरू सुन्ने र शिवपुराण पाठ गर्ने चलन रहेको छ। यस पर्वलाई भगवान् शिव र पार्वतीको विवाहको रातका रूपमा समेत मनाइने भएकाले विशेष महत्व दिइन्छ। भक्तजनहरूले बेलपत्र, गंगा जल, दुध, दही, घिउ, मह, चन्दन, धतुरो, आक तथा अन्य विभिन्न सामग्री चढाएर भगवान् शिवको आराधना गरिरहेका छन्।
सुनसरीका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मन्दिर परिसरमा प्रहरी परिचालन गरिएको छ भने स्वयंसेवक समूहहरूले पनि भक्तजनहरूको व्यवस्थापन गरिरहेका छन्।
धरानको पिण्डेश्वर महादेव मन्दिरमा विशेष महाआरतीको आयोजना गरिएको छ भने इटहरीको बुढीशिवालय मन्दिरमा भव्य शिवरात्रि मेला लाग्ने तयारी गरिएको छ। स्थानीय तह, सुरक्षा निकाय तथा धार्मिक संघसंस्थाहरूको समन्वयमा शिवरात्रि पर्वलाई सभ्य र व्यवस्थित रूपमा सम्पन्न गराउने पहल भइरहेको छ।
शिवरात्रिका अवसरमा जिल्लाका विभिन्न स्थानमा भजनकीर्तन, झाँकी प्रदर्शन तथा शिवपुराण वाचन जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदैछन्। महाशिवरात्रिका दिन ‘बाबाहरू’ (साधु–सन्यासी) हरूको उल्लेखनीय उपस्थिति रहने भएकाले उनीहरूको सेवा तथा व्यवस्थापनका लागि विशेष प्रबन्ध गरिएको स्थानीय समितिहरूले जनाएका छन्।
महाशिवरात्रिको यस पावन अवसरमा देशभरका शिवालयहरूमा भक्तजनहरू जम्मा भई भगवान् शिवको आराधना गरिरहेका छन्। शिवरात्रिले समाजमा धार्मिक सहिष्णुता, भक्तिभाव र संस्कृतिप्रति जागरुकता बढाउने विश्वास गरिएको छ।










Discussion about this post