हरिनगर – महाशिवरात्रि पर्वको अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. १ र २ रामनगर भुटाहास्थित ऐतिहासिक विशाल मिथलेश्वर शिव मन्दिरबाट भव्य रथ यात्रा निकालिएको छ।
बुधबार साँझ धार्मिक परम्पराअनुसार सो मन्दिर समितिले आयोजना गरेको रथ यात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी भएका थिए। रथयात्रा भुटाहाको मिथलेश्वर शिव मन्दिरबाट सुरु भई हरिनगर गाउँपालिकाका विभिन्न वडाहरू परिक्रमा गर्दै पुनः मन्दिर परिसरमा पुगी समापन गरिएको थियो।
मिथलेश्वर शिव मन्दिर क्षेत्रका स्थानीय काैसलकिशाेर कर्णका अनुसार रथ यात्रा विगत धेरै वर्षदेखि महाशिवरात्रिको अवसरमा निकाल्ने परम्परा रहँदै आएको छ। रथयात्रामा भक्तजनहरू बाजागाजा, भजनकीर्तन तथा जय शिवशंकरका जयघोषसहित सहभागी भएका थिए।
रथयात्राका क्रममा भक्तजनहरूलाई स्थानीय संघसंस्थाहरूले निःशुल्क प्रसाद वितरण गरेका थिए। साथै, सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय स्वयंसेवकहरूले सुरक्षाका प्रबन्ध मिलाएका थिए।
रथ यात्रामा सहभागी श्रद्धालुहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले रथ यात्रा महत्वपूर्ण रहेको हरिनगर वडा नम्बर १ का वडाध्यक्ष प्रविण प्रसाद गुप्ताले बताए ।










Discussion about this post