इनरुवा । दोस्रो कोशी प्रिमियर लिग (केपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार सम्पन्न खेलमा भोक्राहा नरसिंह अर्नासले पूर्वेली सुपर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिताभर लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको अर्नासले यो जितसँगै पाँचौँ जित दर्ता गर्दै उपाधि नजिक पुगेको छ।
डाक्टर खलिल आजाद क्रिकेट ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा भएको प्रतिस्पर्धात्मक खेलमा अर्नासले बलिङ र ब्याटिङ दुवै पक्षमा सशक्त प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राख्यो। कप्तानको रणनीतिक नेतृत्व र खेलाडीहरूको उत्कृष्ट समन्वयले टोलीलाई सहज जित दिलायो।
यस जितसँगै भोक्राहा नरसिंह अर्नास प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। अब फाइनल खेलमा उनीहरूले उपाधिका लागि प्रतिद्वन्द्वी टोलीसँग भिडन्त गर्नेछन्।
कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिता काेशी प्रदेशमा क्रिकेट विकासको महत्वपूर्ण स्तम्भका रूपमा हेरिएको छ। यसले स्थानीय खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय क्रिकेटको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। फाइनल खेलको तयारीमा जुटेको अर्नास उपाधि जित्दै प्रतियोगितामा आफ्नो प्रभुत्व जमाउने लक्ष्यमा रहेको छ।










Discussion about this post