दिपेन्द्र यादव/इनरुवा – सुनसरीको भाेक्राहा नरसिंहमा सम्पन्न काेशी प्रिमियर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लाष्टर्सले जितेको छ।
डाक्टर खलिल आजाद क्रिकेट खेल मैदान, भाेक्राहा नरसिंह–४ मा सम्पन्न फाइनल खेलमा नमुना ब्लाष्टर्सले आयोजक भाेक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै उपाधि उचालेको हो।
नमुना ब्लाष्टर्सले दिएको २०८ रनको लक्ष्य पछ्याएको भाेक्राहा नरसिंह अर्नाज १६९ रनमै समेटिएपछि नमुनाले उपाधि हात पार्न सफल भएको हो।
उपाधिसँगै नमुना ब्लाष्टर्सले नगद रु. ५ लाख ५० हजार ५५५ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको भाेक्राहा नरसिंह अर्नाजले नगद रु. ३ लाख ३३ हजार ३३३, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ।
समापन समारोहका प्रमुख अतिथि पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा राष्ट्रिय क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, सशस्त्र प्रहरी बल, प्रस्तावित गुल्म भन्टाबारीका सशस्त्र प्रहरी नायब उपनिरीक्षक सुमन पोखरेल विशेष अतिथिका रूपमा उपस्थित थिए।
यस्तै, भाेक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।










Discussion about this post