काठमाडौं। गृह मन्त्रालयमा सहसचिवहरूको व्यवस्थापनमा देखिएको अव्यवस्था र चरम बेथिति एक पटक पुनः सतहमा आएको छ। गृह मन्त्रालयलाई १४ जना मात्र सहसचिव आवश्यक पर्नेमा हाल २१ जना सहसचिव कार्यरत छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १७ जना सहसचिव थपेपछि गृह मन्त्रालयमा व्यवस्थापन समस्या उत्पन्न भएको हो।
गृह मन्त्रालयमा कार्यरत २२ मध्ये एक जना सहसचिव सूर्यप्रसाद सेढाईं फागुन १६ गते अनिवार्य अवकाशमा गएपछि अहिले २१ जना सहसचिव मन्त्रालयको बरण्डामा ‘हल्लिरहेका’ छन्। तर, आवश्यक दरबन्दीभन्दा बढी सहसचिव हुँदा पनि सरकारले सहसचिव पठाउनु पर्ने स्थानहरूमा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा खटाउने क्रम रोकिएको छैन।
गृहको बरण्डामा ‘थन्किएका’ सहसचिव
गृह मन्त्रालयमा व्यवस्थापन नहुँदा बिभिन्न जिल्लाबाट फिर्ता भएका सहसचिवहरू मन्त्रालयको बरण्डामा ‘घाम तापेर’ बस्न बाध्य छन्। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट फिर्ता गरिएका सशिधर घिमिरे, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराई, झापाका सिडिओ बन्धुप्रसाद बाँस्तोला लगायतका सहसचिवहरू गृह मन्त्रालयमै कार्यविहीन अवस्थामा रहेका छन्।
त्यस्तै, भवेश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय, दिव्यराज पोखरेल, धर्मराज जोशी, बलराम रिज्याल, सुरेन्द्र पौडेल, आनन्द सारु, वेदप्रसाद खरेल, कुमानसिंह गुरुङ, दीपकराज नेपाल, नरहरी घिमिरे, ईश्वरीप्रसाद अर्याल र माधवप्रसाद पोखरेल गृहमा दरबन्दीभन्दा बढी सहसचिवको सूचीमा छन्।
उपसचिवलाई सिडिओ बनाउने गलत अभ्यास
गृह मन्त्रालयको अव्यवस्थित व्यवस्थापनका कारण सहसचिवको दरबन्दी रहेको जिल्लाहरूमा पनि उपसचिवलाई सिडिओ बनाएर पठाइएको छ। उदाहरणका लागि—
- अछाम – उपसचिव शिवप्रसाद लम्साल (वैशाख २४ देखि)
- डडेलधुरा – उपसचिव चोमेन्द्र न्यौपाने (भदौ २४ देखि)
- प्युठान – उपसचिव रमा आचार्य (भदौ ३१ देखि)
- अर्घाखाँची – उपसचिव बाबुराम अर्याल (भदौ ३० देखि)
- रामेछाप – उपसचिव राजुप्रसाद पौडेल (असोज ६ देखि)
- दैलेख – उपसचिव नवराज जैसी (असोज ७ देखि)
- जुम्ला – उपसचिव रामबहादुर शाही (असोज ९ देखि)
- डोटी – उपसचिव मोहनराज जोशी (कात्तिक १२ देखि)
- बैतडी – उपसचिव दीर्घराज उपाध्याय (कात्तिक १२ देखि)
- सल्यान – उपसचिव सावित्रा पुन (पुस २८ देखि)
यी सबै स्थानमा सहसचिवको दरबन्दी रहे पनि गृह प्रशासनले उपसचिवलाई सिडिओ बनाएर पठाएको देखिन्छ।
गृहमन्त्री लेखकको परीक्षा
गृहमन्त्री रमेश लेखकले पदभार सम्हालेपछि गृह प्रशासनमा सुधारको अपेक्षा गरिएको थियो। तर, सहसचिवहरूलाई गृह मन्त्रालयमै रोक्ने र उपसचिवलाई सिडिओ पठाउने अभ्यास नरोकिएपछि गृह मन्त्रालयमा चरम बेथिति देखिएको छ।
सहसचिव पठाउनुपर्ने स्थानहरूमा उपसचिवलाई निरन्तर सिडिओका रूपमा पठाइरहने हो भने, गृह मन्त्रालयको प्रशासनिक संरचना थप अस्तव्यस्त हुने देखिन्छ। अब गृहमन्त्री लेखकले सहसचिवहरूको उचित व्यवस्थापन गर्दै गृह प्रशासनमा सुधार ल्याउने कि बेथितिलाई निरन्तरता दिने भन्ने प्रश्न उठेको छ। सुधारको पहल नगरे गृह मन्त्रालयको ‘बरन्डा संस्कृति’ अझै लामो समय टिक्ने देखिन्छ।










Discussion about this post