इटहरी । एक त सुतेको मान्छे अचानक उठ्दैन, अर्को त रातारात लाश जलाउने हतारो! इटहरीमा एक २१ वर्षीया घरेलु कामदारको शव गोप्य रूपमा जलाइएको रहस्यमयी घटनाले शहरभर तरंग ल्याएको छ। मृतक चन्दा चौधरीका आफन्तहरू भन्छन्— “यो हत्या हो, जसलाई लुकाउन लाश नै सिध्याइयो!”
हत्या कि दुर्घटना?
फागुन ९ गते, इटहरी ६ जुटबिकास चौक। २१ वर्षीया चन्दा चौधरी, जो समयलाल गुप्ताको घरमा घरेलु कामदार थिइन्, अचानक अत्यधिक रगत वान्ता गर्न थालिन्। गुप्ताले उनलाई इटहरीकै पन्चकोशी हेल्थ सर्भिस पुर्याए। चिकित्सकहरूले लिभर र पिसाबमा इन्फेक्सन देखे, औषधि दिएर पठाए। तर बेलुकी फेरि गम्भीर अवस्थामा पुगेपछि उनलाई कोशी अस्पताल विराटनगर रेफर गरियो।
तर कोशी अस्पताल पुग्ने वित्तिकै चन्दाको मृत्यु भयो। अनि सुरु भयो एउटा यस्तो ‘खेल’ जसले अपराधको रहस्यलाई झन् जटिल बनायो!
रातारात लाश जलाउने रहस्यमयी खेल!
कोशी अस्पतालमा चन्दाको मृत्यु भएपछि अस्पतालले शव परिवारलाई बुझाउनुपर्ने हो। तर अस्पतालबाट लाश बुझ्ने कोही परिवारजन थिएनन्— थिए त केवल गुप्ता। उनले आफन्तलाई खबर नगरी केही छिमेकीसँग मिलेर रातको ११ बजे इटहरीको बुढी गङ्गा घाटमा दाहसंस्कार गरिदिए।
अर्को दिन बिहान जब चन्दाका दिदी रिता परियारलाई यो खबर पुग्यो, उनी स्तब्ध भइन्। “हामीलाई नबताई लाश जलाउने हिम्मत कसरी गरे?” उनले आक्रोश पोखिन्।
हत्याको आरोप : यातना, कुटपिट र जबर्जस्ती काम
चन्दा चौधरी श्रीमानबाट छुटेपछि समयलाल गुप्तासँग बस्दै आएकी थिइन्। गुप्ताले ‘संरक्षण’ दिएको नाममा चन्दालाई घरेलु कामदार बनाएर राखेका थिए। दिदी रिताका अनुसार गुप्ताले बहिनीलाई बारम्बार कुटपिट गर्ने, यातना दिने, पारिश्रमिक नदिने गर्थे।
मृत्युभन्दा केही दिनअघि गुप्ताले चन्दालाई भोकै राखेको, जुटबिकास चौकमा जुत्ताले हानेर घाइते बनाएको आरोप आफन्तले लगाएका छन्। “शरीरभर चोट देखिन्थ्यो, यो स्वाभाविक मृत्यु होइन!” रिता भन्छिन्।
प्रहरी कारबाही र अनुसन्धानको घेराबन्दी
घटना रहस्यमयी भएपछि चन्दाकी दिदीले इलाका प्रहरी कार्यालय इटहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिन्। फागुन १० गते प्रहरीले गुप्तालाई पक्राउ गर्यो।
डिएसपी लक्ष्मी भण्डारी भन्छन्— “घटना शङ्कास्पद देखिएको छ, शव जलाउने समूह, अस्पतालको भूमिका सबैलाई अनुसन्धानको दायरामा ल्याएका छौँ।” प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
तर सबैभन्दा ठूलो रहस्य के छ भने— शव किन जलाइयाे !
अब ‘हत्या कि दुर्घटना’ को यक्षप्रश्नको उत्तर दिन सक्छ। गुप्ताले किन शव आफैँ जलाए? अस्पतालले परिवारलाई खबर किन गरेन? यो रहस्य खुल्ने छ, तर सत्य लुकाउनेहरूको पर्दाफास हुन बाँकी नै छ!










Discussion about this post