तनहुँ । व्यास नगरपालिकाले जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा चार जना कर्मचारीलाई निलम्बन गरेको छ।
नगर कार्यपालिका बैठकको निर्णयअनुसार आन्तरिक लेखा परीक्षण अधिकृत एवं सूचना अधिकारी कुमार कञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे, र सवारी चालक कुशेश्वर गुरुङलाई निलम्बन गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले ती कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए। कार्यपालिका बैठकले सो निर्देशन अनुमोदन गर्दै आगामी २६ गते बिहान ८ बजेभित्र स्पष्टीकरण पेश गर्न सम्बन्धित कर्मचारीलाई आदेश दिएको छ।
बैठकले निलम्बित कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सबै अतिरिक्त सुविधा रोक्का गर्ने निर्णय गर्दै उनीहरू नगरपालिका मातहतका कुनै पनि समिति तथा उपसमितिमा रहेमा सो जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेको छ।
यस घटनाले नगरपालिका प्रशासनभित्रको आन्तरिक विवादलाई उजागर गरेको छ भने कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध सुधार्न थप पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।










Discussion about this post