इनरुवा – नेपाल निजामती कर्मचारी युनियन, सुनसरीमा नेतृत्व चयन प्रक्रिया विवादास्पद बन्दै गएको छ। युनियनका १२ जना पदाधिकारी तथा सदस्यहरूले श्याम किशोर मण्डलको अध्यक्षतामा गठन गरिएको नयाँ समिति ‘अवैध’ भएको दाबी गर्दै आफूहरू त्यसमा आबद्ध नरहेको स्पष्ट पारेका छन्।
बिनासूचना नाम समावेश, पदाधिकारीहरू आक्रोशित
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले मण्डल नेतृत्वको कार्य समितिको गठन प्रक्रिया आफूहरूले थाहा नै नपाएको र कुनै जानकारी नदिई आफ्नो नाम कार्यसमितिमा राखिएको आरोप लगाएका छन्। विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा चनिया खातुन, अमर लाल साह, दुर्गा माया खड्का, मन्दिरा कार्की, मिस्ता कोइराला, निश्चल धिमिरे, ब्रज कुमार झा, सन्दिप सुवेदी, अब्दुल कैयुम अंसारी, हरेराम साह, मीन बहादुर श्रेष्ठ, र कल्पना पहाडी रहेका छन्।
विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, “नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति, सुनसरीको मण्डल नेतृत्वको कार्यसमिति गठन प्रक्रिया गोप्य राखेर, छलफल नगरी हामीलाई अनभिज्ञ राख्दै हाम्रो नाम सूचीमा समावेश गरिएको छ। हामी यो समितिमा छैनौं र यसमा कार्य गर्न सक्दैनौं।”
मण्डलको ‘फर्जी नेतृत्व’ ! बेखबर कि रणनीति?
सोही विज्ञप्तिमा मण्डल नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै उनीहरूले प्रक्रिया नै अवैध भएको जिकिर गरेका छन्। उनीहरूको दाबीअनुसार, मण्डलको अध्यक्षतामा रहेको भनिएको समिति न त वैधानिक रूपमा गठित छ, न त यस विषयमा सम्बन्धित कर्मचारीहरूसँग कुनै समन्वय गरिएको छ।
तर, यति ठूलो विवाद चुलिँदा पनि अध्यक्ष मण्डलको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। उनी यो विषयमा बेखबर भएको नाटक गरिरहेका छन्, वा योजनाबद्ध रूपमा समिति गठनको नाममा खेल खेलिएको छ भन्ने प्रश्न उठेको छ।
अध्यक्ष मण्डलको मौनता : डर कि दोषीपन?
सम्बन्धित पक्षहरूसँग जानकारी माग्दा पनि अध्यक्ष मण्डलले चुप्पी साधेका छन्। यता, असन्तुष्ट सदस्यहरूले भने आफ्नो नाम जबरजस्ती समितिमा राखिनु गम्भीर अनैतिकता भएको भन्दै अन्य सम्बन्धित निकायलाई समेत सचेत गराएका छन्।
अब केन्द्रीय नेतृत्वले यस विषयमा छानबिन गर्छ कि अवैध रूपमा घोषणा गरिएको समितिलाई निरन्तरता दिन्छ? यो विषयमा सबै निजामती कर्मचारीहरूको चासो बढेको छ। यदि समयमै स्पष्टिकरण आउँदैन भने युनियन भित्र गहिरो फुट पर्ने संकेत देखिएको छ।










Discussion about this post