इनरुवा । सुनसरीका किसानहरू पछिल्ला वर्षहरूमा मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन्। कृषि ज्ञान केन्द्र, सुनसरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ, जसबाट करिब ८३ हजार मेट्रिक टन मकै उत्पादन भएको छ।
यसअघिका वर्षहरूमा मकै खेतीको क्षेत्रफल कम थियो। आर्थिक वर्ष २०७९/८० मा ९ हजार ६७४ हेक्टरमा मात्रै मकै खेती गरिएको थियो, जसबाट ७५ हजार ५०० मेट्रिक टन मकै उत्पादन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ९ हजार २१४ हेक्टरमा र २०७७/७८ मा ९ हजार ३४ हेक्टरमा मकै खेती भएको कृषि ज्ञान केन्द्र सुनसरीको वार्षिक प्रतिवेदनले देखाएको छ।
यता कृषि ज्ञान केन्द्र सुनसरीका सहायक बागवानी विकास अधिकृत तथा सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार हिउँदे बालीमा अन्य अन्नबालीभन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्।
“हिउँदे मकै खेती राम्रो देखिएको छ। किसानलाई बजारको समस्या छैन। घाँसका रूपमा बिक्री हुने, दाना बनाएर बेच्न मिल्ने भएकाले किसानहरू उत्साहित छन्,” श्रेष्ठ भन्छन्। “सुनसरीमा मकै उत्पादनको क्षेत्रफल प्रत्येक वर्ष बढ्दै गएको छ, उत्पादन पनि वृद्धि भइरहेको छ।”
त्यस्तै, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहका अनुसार धेरै प्राविधिक ज्ञानको आवश्यकता नपर्ने, तुलनात्मक रूपमा मिहिनेत कम लाग्ने, प्रविधिको प्रयोग गर्न सकिने र बजारको अभाव नभएको कारण मकै खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको हो।
“गहुँ खेती घटिरहेको देखिन्छ। तोरी पनि कमै लगाइएको छ। त्यसको सट्टा मकै खेती व्यापक भइरहेको छ। यसको सहज बजार छ,” प्रमुख सिंहले भने। “मकैको प्रयोग बोटदेखि नै घरायसी घाँसको रूपमा पनि हुने भएकाले पशुपालक किसानहरू समेत यसको खेतीतर्फ आकर्षित भएका छन्। साइलेज घाँस उत्पादनका लागि हरियो मकै खेतबारीबाटै बिक्री हुन थालेपछि किसानहरू झन् उत्साहित छन्।”
त्यसैगरी सुनसरीका विभिन्न स्थानीय तहहरूमा मकै खेतीको विस्तार भइरहेको छ। इनरुवा, दुहबी, रामधुनी, इटहरी, बराहक्षेत्र नगरपालिकाका साथै भोक्राहा नरसिंह, हरिनगर, देवगञ्ज, कोशी, गढी, बर्जु लगायतका गाउँपालिकाहरूमा किसानहरूले मकै खेतीलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन्।
हरिनगर गाउँपालिकाका किसान विजय यादवका अनुसार गहुँभन्दा मकै खेतीले राम्रो नाफा दिने भएकाले उनी हिउँदे मकैतर्फ आकर्षित भएका छन्। “गहुँको तुलनामा मकै बेच्न सजिलो छ। खल्लो मकै मात्र होइन, हरियो मकै नै खेतबाट बिक्री हुन्छ। पशुचौपाय पालन गर्ने किसानहरूले खेतमै आएर किन्न्छन्,” उनले बताए।
त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिकाका किसान रामबहादुर चौधरी भन्छन्, “पहिले तोरी धेरै लगाइन्थ्यो, अहिले मकै बढी लगाइन्छ। साइलेज घाँसका लागि हरियो मकैको माग बढेको छ, जसले गर्दा हामीलाई राम्रो आम्दानी भइरहेको छ।”
कोशी गाउँपालिकाका कृषि प्राविधिक अर्जुन मण्डलका अनुसार मकै खेती बढ्नुमा सरकारले प्रविधि भित्र्याउनु, मल–बीउको सहज आपूर्ति र किसानहरूको चासो मुख्य कारण बनेका छन्। “हामी किसानहरूलाई उन्नत जातको मकैको बीउ वितरण गर्दैछौं। मलको व्यवस्था मिलाइएको छ, जसले गर्दा उत्पादन बढ्दै गएको छ,” मण्डलले बताए।
त्यसैगरी सुनसरी जिल्लाका किसानहरू गहुँ, तोरीजस्ता अन्य हिउँदे बालीको तुलनामा मकै खेतीतर्फ आकर्षित भइरहेका छन्। उत्पादन वृद्धि हुनु, सहज बजार उपलब्ध हुनु, कम मिहिनेतमा बढी नाफा हुनु, प्रविधिको प्रयोग गर्न मिल्नु र पशुपालनसँग जोडिनुजस्ता कारणले मकै खेती लोकप्रिय बन्दै गएको छ।
प्रदेश तथा स्थानीय सरकारहरूले किसानहरूलाई आधुनिक प्रविधिसहितको मकै खेतीमा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याएमा भविष्यमा मकै उत्पादन झन् बढ्ने र कृषिमा आत्मनिर्भरता बढाउने विश्वास लिइएको छ।










Discussion about this post