इनरूवा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनप्रतिनिधिहरूले गरेका राम्रा कामको प्रभावकारी प्रचार गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले काम मात्र गरेर नपुग्ने र जनतासम्म यसको जानकारी पुर्याउन प्रचार अपरिहार्य रहेको बताए।
थापाले भने, “ठीक ढंगले प्रचार गर्न सकिएन भने जनताले कामको जानकारी पाउँदैनन्। यसको प्रत्यक्ष असर पार्टीमै पर्छ। त्यसैले जनप्रतिनिधिहरूले आफ्ना उपलब्धिहरू जनता माझ पुर्याउन ध्यान दिनुपर्छ।” उनले जनप्रतिनिधिहरूले आफ्नो क्षमता, सीमाबद्धता तथा चुनौतीहरूबारे पार्टीसँग संवाद गर्नुपर्नेमा पनि जोड दिए।
संविधानको सीमाभित्र रहेर जनअपेक्षा पूरा गर्न सकिने उल्लेख गर्दै उनले “सुशासनको प्रत्याभूति दिलाउन सरकार जिम्मेवार बन्नुपर्छ” भन्ने धारणा राखे। उनले गणतन्त्र र संघीयता कांग्रेसकै पहलमा स्थापित भएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा उभिँदा आफूलाई अतीतमा राजद्रोहको मुद्दासमेत लागेको अनुभव सुनाए।
महामन्त्री थापाले कांग्रेस संघीयता र गणतन्त्रका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्दै भने, “कांग्रेस विभाजनपछि नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बने। गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसले विकेन्द्रीकरणको अवधारणा अघि सार्यो भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकले नेपाललाई संघीयतामा लैजाने निर्णय गर्यो। त्यसैले संघीयता कांग्रेसकै अवधारणा हो। अहिले संघीयता ठीक ढंगले चलेको छैन तर कांग्रेस यसलाई प्रभावकारी बनाउन दृढ संकल्पित छ।”
उनले पार्टीभित्र छलफल, संवाद र प्रशिक्षणलाई नियमित गर्नुपर्ने बताउँदै कांग्रेस कार्यकर्ताहरूलाई संगठित भएर अघि बढ्न आग्रह गरे।










Discussion about this post