चिराैली । “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता” भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस २०२५ को अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहले क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको उल्लेख गरे। उनले क्षयरोगको निदान, उपचार र रोकथामका लागि सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी गराउँदै, “स्थानीय तहको सक्रियता र प्रभावकारी कार्यान्वयनबाट क्षयरोग उन्मूलन सम्भव छ,” भने।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले स्वास्थ्य सेवा पहुँच योग्य बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए। उनले भने, “स्थानीय सरकारको प्राथमिकतामै स्वास्थ्य क्षेत्र पर्छ। क्षयरोग उन्मूलनका लागि आवश्यक स्रोतसाधन परिचालन गर्दै समुदायलाई सशक्त बनाउन हाम्रो प्रतिबद्धता छ।”
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले क्षयरोग नियन्त्रणमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै प्रारम्भिक चरणमै रोग पहिचान गर्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। अन्तरक्रियाले क्षयरोग उन्मूलनमा स्थानीय तहको जिम्मेवारी र योजनाबारे विस्तृत छलफल गरेको आयोजकहरूले जनाएका छन्।










Discussion about this post