चिराैली – भोक्राहा नरसिंह गाउँपालिका-२ मा भएको आगलागीबाट प्रभावित परिवारहरूलाई इस्लामनगरका युवाहरूको तर्फबाट खाद्यान्न तथा आवश्यक सामग्री प्रदान गरिएको छ।
गत सोमवार भएको यस राहत वितरण कार्यक्रममा चार जना पीडित परिवारलाई आवश्यक खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइयो। प्रत्येक परिवारलाई १ बोरा चामल, १ बोरा भुजा, १ काटुन पानी, १ केजी तेल, १ केजी दाल, १ केजी नुन र लुगा धुने साबुन प्रदान गरिएको इस्लामनगरका युवाहरूले जानकारी दिए।
राहत वितरण कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वडा नं. २ का वडा अध्यक्ष आलम अन्सारीको समन्वयमा सम्पन्न भएको थियो। पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न इस्लामनगरका युवाहरूले पहल गरेका हुन्।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले प्राकृतिक विपत्तिका बेला समुदायबाट गरिएको सहयोग प्रेरणादायी रहेको बताए। वडा अध्यक्ष आलम अन्सारीले आगलागी पीडितको पुनर्स्थापनाका लागि स्थानीय निकायबाट समेत आवश्यक पहल गरिने आश्वासन दिए।
पीडित परिवारले इस्लामनगरका युवाहरू र स्थानीय प्रशासनलाई सहयोगका लागि धन्यवाद दिएका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र थप सहयोगका लागि पहल भइरहेको स्थानीय प्रतिनिधिहरूले जनाएका छन्।










Discussion about this post