रन्धिर यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाको १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाका किसानहरूका आँखामा यतिबेला न निद्रा छ, न शान्ति। खेतका डाँठमा टाँसिएका सुक्खा मकैका पातहरू, पानीको अभावमा हरियाली गुमाएका गहुँका बाला, अनि पसीनाले निथ्रुक्क भिजेका किसानका अनुहार— यो कथा मात्र होइन, एउटा दर्दनाक वास्तविकता हो।
सुकसेना शाखा नहरमा पानी नआउँदा हजारौँ रोपनी जमिन बाँझो हुने अवस्थामा पुगेको छ। पानी नपाएपछि बाली फस्टाउँदैन, रोटीकै अभाव हुन्छ। किसानहरूका हरेक बिहान आकाशतिर हेर्दै बित्छ— ‘सायद आज नहरमा पानी आउँछ कि ?’ तर, दिन फेरिन्छ, आशा तुहिन्छ।
खेतमा खडेरी, किसानको मनभित्र आँधी
“सुकसेना शाखा नहर नै हाम्रो जीवनरेखा हो,” ६० वर्षीय किसान रमेश यादव भन्छन्, “हाम्रो खेतमा पानी पसेन भने के गर्ने ? सरकार कहाँ छ ? को छ हाम्रो पीर सुन्ने ?”
यादव जस्तै हजारौँ किसान यतिबेला मानसिक तनावमा छन्। गहुँले बाला हाल्ने समय, मकैले जरामा पानी खोज्ने घडी— तर खेत सुकेको छ, किसानको मन सुकेको छ।
गाउँपालिका अध्यक्ष आजादको प्रयास, तर समाधान कहिले ?
किसानका चित्कार गाउँपालिकासम्म आइपुगेपछि अध्यक्ष अजमल अख्तर आजादले सम्बन्धित कार्यालयहरूलाई ताकेता गरेका छन्। “किसानको पीडामा म मौन बस्न सक्दिनँ,” उनले भने, “शाखा नहरमा पानी आपूर्ति तुरुन्त गराउन पहल गरिरहेका छौँ।”
तर, यो पहल कति प्रभावकारी हुनेछ ? नहरमा पानी कहिले आउँछ ? यी प्रश्नहरू अहिलेसम्म अनुत्तरित छन्।
पीडाको कथा : ‘बाली सुक्दा हाम्रो आश पनि सुक्दैछ’
५५ वर्षीया जमुना देवी आफ्नो खेततिर हेर्दै आँसु झार्छिन्। “मकै रोपेर बाँच्ने आश गरेको थिएँ, तर सुक्दै गयो। उब्जनी भएन भने छोराछोरीलाई कसरी खुवाउँछु ?”
कृषिमा आश्रित यी किसानहरूका लागि पानी मात्र पानी होइन, जिउने आधार हो। जब पानी आउँदैन, तिनीहरूको भविष्य ओइलाउँदै जान्छ।
सम्बन्धित निकाय किन मौन ?
यो समस्या हिजोआजको होइन। हरेक वर्ष यस्तो नै हुन्छ। सम्बन्धित निकायहरूले किन समयमै ध्यान दिँदैनन् ?
अब के होला ?
सुकसेना शाखा नहरमा पानी नछोडिए किसानको अन्नबाली खेर जाने पक्का छ। सरकारको ध्यान कहिले पुग्छ ? किसानहरूका आँसु कहिले पुछिन्छन् ?
कृषिप्रधान देशमा किसानको यस्तो पीडा रहिरहे, भोकले मर्ने पालो को आउँछ ?










Discussion about this post