दिपेन्द्र यादव/इनरुवा – बिहानको समय, चिरौली बजारमा चहलपहल सुरु भइसकेको थियो। व्यापारीहरू आफ्नो पसल खोल्दै थिए, ग्राहकहरू तरकारी, किराना सामान, औषधि किन्न हतारिएका देखिन्थे। तर, आजको बिहान अन्य दिनभन्दा फरक रह्यो। गाउँपालिकाको टिम सरकारी गाडीमा बजार अनुगमन गर्न आइपुगेको थियो।
“बजारमा वस्तु तथा सेवाको गुणस्तर हेर्न अनुगमन आवश्यक छ। स्थानीयले मिति नाघेका, गुणस्तरहीन वा अत्यधिक महँगो वस्तु किन्न बाध्य हुनुहुँदैन। नियम उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ,” गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले स्पष्ट पार्दै भने।
अनुगमन टोलीको उपस्थितिले व्यापारीहरू सतर्क
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख साैरभ श्रेष्ठ तथा भाेक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा शाह सम्मिलित थिए। टोली चिरौली हुँदै आकाहा बजार पुग्दा केही पसलेहरू हतारिँदै आफ्नो सामान लुकाउन थाले। म्याद गुज्रिएका सामान राख्ने, उचित स्वच्छता नअपनाउने, मूल्यसूची नराख्ने व्यापारीहरूलाई टोलीले चेतावनी दिएको थियो।
स्वास्थ्य शाखा प्रमुख हिरा शाहले बजारका होटल तथा किराना पसलमा राखिएका खाद्य सामग्रीहरूको म्याद जाँच गरे। कतिपय पसलमा म्याद सकिएका खाद्य पदार्थ भेटिए, केही पसलहरूमा मूल्यसूची नराखेको पाइयो। अनुगमन टोलीले ती सामान तत्काल नष्ट गर्न लगायो।
स्थानीयको प्रतिक्रिया: अनुगमन जरुरी छ
अनुगमनका क्रममा स्थानीय उपभोक्ताले यसलाई स्वागत गरे। चिरौलीका एक ग्राहक रामेश्वर यादव भन्छन्, “हामी सधैं ताजा र गुणस्तरीय सामान पाइरहेका छौं कि छैनौं भन्ने थाहा हुँदैन। बजार अनुगमन भयो भने व्यापारीहरू सचेत हुन्छन्।”
आकाहा बजारका एक होटल व्यवसायी भने असन्तुष्ट देखिए। “कहिलेकाहीं हतारमा सामान राख्दा ध्यान नजान सक्छ, तर नियम पालना गर्नुपर्छ भन्ने चेतना बढ्यो,” उनले भने।
अनुगमनलाई निरन्तरता दिने गाउँपालिकाको प्रतिबद्धता
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादका अनुसार यो अभियानलाई निरन्तरता दिइनेछ। “हामी उपभोक्ताको हितका लागि निरन्तर बजार अनुगमन गर्नेछौं। गुणस्तरहीन सामान बेच्ने, म्याद सकिएको वस्तु राख्ने वा स्वच्छता मापदण्ड उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही हुनेछ,” उनले चेतावनी दिए।
बजार अनुगमनपछि टोलीले व्यापारीहरूलाई नियम पालना गर्न र उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह गर्याे। सफा, स्वस्थ, र व्यवस्थित बजार सञ्चालन गर्ने उद्देश्यका साथ गाउँपालिकाले अनुगमनलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ।










Discussion about this post