रन्धिर यादव /सुनसरी । भोक, गरिबी, अभाव— यी शब्दहरू सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंहका शिवनारायण यादवको जीवनमा कहिल्यै ठाउँ पाएनन्। कारण थियो— उनको असाधारण साहस र भैंसीहरूप्रति उनको अगाध प्रेम। यो कुनै साधारण प्रेम थिएन, यो त जंगली आर्ना भैंसीहरूसँगको सम्बन्ध थियो, जुन सुन्दा जो कोहीको रौं ठाडो हुन सक्छ।
झन्डै चार दशकअघि, जब गाउँमा मानिसहरू आर्ना देख्नासाथ ‘हे भगवान!’ भन्दै भाग्ने गर्थे, यादव भने निडरतापूर्वक तिनको अगाडि हात फैलाउँदै उभिन्थे। कतिले उनलाई पागल भने, कतिले हिम्मतवाला, तर उनले कहिल्यै पर्वाह गरेनन्। उनी आफ्नै धुनमा लागिरहे।
भैंसीहरूसँगको अनौठो जीवन
यादवको गोठ कुनै साधारण गोठ होइन। त्यहाँ मुर्रा, लोकल, आर्ना लगायतका ८४ वटा भैंसीहरू छन्, जो आफ्नै दुनियाँमा रमाइरहेका छन्। खासगरी आर्ना भैंसीहरू त यति जंगली छन् कि एकपटक कुनै अपरिचित मान्छे नजिक गयो भने, त्यो मान्छे आफूलाई भगवान भरोसा छ भनेर सम्झिन बाध्य हुन्छ! तर शिवनारायण यादव भने ती आर्नाहरूसँग यस्तो खेल्छन्, मानौं तिनीहरू सानो बाच्छोझैं हुन्।
आर्ना भैंसीको दूध— स्वर्गीय स्वाद
“आर्ना भैंसीको दूध खाएको मान्छे, अरू दूध खान मान्दैन!” बुढापाकाहरू भन्छन्। यादवको गोठमा १३ वटा दुधालु भैंसी छन्, जसले दैनिक ७० लिटरसम्म दूध दिन्छन्। तर गजबको कुरा, उनले त्यो दूध बेच्दैनन्!
“म त खानकै लागि मात्र दूध दुन्छु!” यादव हाँस्दै भन्छन्।
बुढापाकाहरू थप्छन्, “आर्ना भैंसीको दूधको चिया खाँदा त खाउँ खाउँ लाग्छ, दही तँ क्या स्वादिष्ट लाग्छ!”
तर, यो दूध दुह्न भने सामान्य काम होइन। आर्ना भैंसीको अगाडि जानु भनेको बाघको मुखमा हात हाल्नु बराबर हो! एकचोटि यादवका छरछिमेकीहरूले उनको गोठबाट दूध निकाल्ने प्रयास गरेका थिए। नतिजा? तीन दिनसम्म कम्मरमा मलिस गर्नुपर्ने अवस्था आयो!
जंगली आर्नासँगको कहालीलाग्दो क्षण
यादवको गोठमा पुग्ने जो कोहीले अनौठो अनुभव गर्छ। आज पनि, जब सुनसरीका युवा पत्रकार दिपेन्द्र यादव र नेपाली कांग्रेसका युवा नेता पंकज यादव त्यहाँ पुगे, उनीहरूको अनुहारमा डर र रोमाञ्चको मिश्रण थियो।
“भैंसीसँग खेल्न मन लाग्यो,” पंकजले हिम्मत गरेर भने।
“भैंसीले तिमीसँग खेल्न मन लगाएन भने के गर्ने?” यादव हाँस्दै बोले।
केही मिनेटपछि, जब आर्ना भैंसी पंकज यादवतर्फ अगाडि बढ्यो, उनले केहीबेर त मुस्कुराए, तर जब भैंसीले आँखा जुधायो, उनको आत्माले ‘जय नेपाल!’ भन्दै प्रस्थान गर्यो। उनी दौडिए, र पछाडि आर्ना भैंसी पनि दौडियो!
दिपेन्द्र यादव भने आर्ना भैंसीकाे घेराबन्दीमा फसिसकेका थिए। उनले एक आर्नाको घाँटीमा हात राख्ने प्रयास गरे। आर्नाले निहुँ खोज्दै घाँटी हल्लाउन थाल्यो! “अब चाहिँ गयो!” उनको मनले भन्यो, तर शरीरले भन्न नपाउँदै शिवनारायण यादवले आर्नाको कानमा केही फुसफुसाए। जादूजस्तो गरी आर्ना भैंसी शान्त बन्यो।
विश्वासले असम्भवलाई सम्भव बनाउँछ
शिवनारायण यादवको कथा केवल भैंसी पालनको कथा होइन। यो त हिम्मत, आत्मीयता, र असम्भवलाई सम्भव बनाउने एक प्रेरणादायक यात्रा हो।
जहाँ मानिसहरू जंगली भैंसी देख्नासाथ “हे भगवान! बाँच्न देऊ!” भनेर दौडिन्छन्, त्यहाँ शिवनारायण यादव ती भैंसीहरूलाई सुम्सुम्याउँदै बसेका हुन्छन्। उनको लागि आर्ना भैंसी केवल जनावर होइन, परिवारका सदस्य हुन्।
यो कथा केवल एउटा मानिसको कथा होइन, यो त डरलाई विश्वासमा बदल्ने हिम्मतको कथा हो। जहाँ समर्पण छ, त्यहाँ असम्भव भन्ने केही हुँदैन। शिवनारायण यादवको जीवनले यही प्रमाणित गरिरहेको छ— असल व्यवहार र विश्वासले जंगली भैंसी पनि पालिन सक्छ!










Discussion about this post