सुनसरी – काठमाडौंका पत्रकार सुरेश रजकको हत्या तथा आमसञ्चारमाध्यममाथि भएका आक्रमणको विरोधमा सुनसरीका पत्रकारहरूले प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ, सुनसरी शाखाको अगुवाइमा शनिबार इटहरीको मुख्य चोक हुँदै इटहरी उपमहानगरपालिका कार्यालयसम्म पुगेर कोणसभा गरिएको हो।
शुक्रबार पूर्वराजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक समाचार संकलन गरिरहेका बेला प्रदर्शनकारीहरूले आगजनी गर्दा उनको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासंघ, सुनसरी शाखाले प्रदर्शनको आयोजना गरेको महासंघका सदस्य सुरेन्द्र कुशवाहाले जानकारी दिए।
विरोध र्यालीमा सहभागी पत्रकारहरूले प्लेकार्ड प्रदर्शन गर्दै “पत्रकार सुरेश रजकका हत्यारालाई कारबाही गर”, “प्रेस स्वतन्त्रता कायम गर”, “पत्रकारको सुरक्षा ग्यारेन्टी गर”, “दण्डहीनताको अन्त्य गर”, “सुरेश रजकलाई न्याय दे” जस्ता नाराबाजी गरेका थिए।
कोण सभामा महासंघका सचिव विनय बार्हकोटीले दोषीहरूलाई कडा कारबाहीको माग गरे। नेपाल प्रेस युनियनका अध्यक्ष ध्रुव ढकालले पत्रकार रजकका परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरे। अध्यक्ष ढकालका अनुसार पत्रकार र मिडियामाथि भएको आक्रमणको विरोधस्वरूप महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शन गरेको हो।
महासंघले आगामी विरोध कार्यक्रमबारे थप निर्णय लिएको छ। साथै, भोलि (चैत १७ गते) जिल्ला प्रशासन कार्यालय, सुनसरीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने जनाएको छ।










Discussion about this post