दिपेन्द्र यादव/ सुनसरी । सुदूर टाढा देखिने हरियाली आज ओइलिएको छ। गहुँको बोटमा चमक छैन, मकैको पात चाउरिएको छ, सुर्यमुखीले सूर्यलाई हेर्न बिर्सिएको छ। सुकसेना शाखा नहर सुक्दै गएपछि भोकाहा नरसिंहका किसानको सपना सुक्दै गएको छ। खेतमा पानी छैन, आकाशबाट वर्षा हुने सम्भावना पनि छैन – बाँकी छ त केवल किसानको हाँसोमा मिसिएको पीडा।
तर यो पीडाको कथा सुन्ने कोही छ – गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद।
‘आँसु झरेको देख्दा निद्रा आउँदैन’
सामान्यतया जनप्रतिनिधि भनेपछि भाषण दिने, आश्वासन बाँड्ने काम सम्झिन्छन् धेरैले। तर अध्यक्ष आजाद फरक छन्। किसानका आँखाबाट आँसु झरेको देख्दा उनलाई निद्रा लाग्दैन। दिन–रात उनी सुकसेना नहरमा पानी ल्याउनका लागि सक्रिय छन्।
“किसानको पसिना सुक्दै छ, तर सरकार सुन्दै छैन। यसरी चुप लागेर बस्न सकिन्न,” अध्यक्ष आजादको स्वरमा आक्रोशसँगै माया मिसिएको छ।
उनले पटक–पटक सुनसरी मोरङ सिचाई आयोजनाका प्रमुखलाई भेटे। पत्राचार गरे, टेलिफोन गरे, प्रत्यक्ष भेटेरै आग्रह गरे – तर जवाफ सधैंजसो एकै खालको, “समस्या मन्त्रालय पठाइसकिएको छ।”
किसान भन्छन् – “अब के खाऊँ?”
रामलाल यादव, ५५ वर्षीय किसान, आँखा झपक्क अँध्यारो बनाउँदै भन्छन्, “गहुँ, मकै, तोरी, सुर्यमुखी सबै लगायौं। मल छ, बीउ छ, तर पानी छैन। अब हाम्रो खेत होइन, हाम्रो जीवन सुक्दै छ। बच्चाहरूलाई के खुवाउने?”
साथै, अर्का किसान रामपुकार मण्डलको पीडा अझ मार्मिक छ – “हामीले त नहर हेरेर साँचो सपना देखेका थियौं। अब त्यही नहर हेरेर रुनुपर्ने भयो।”
आन्दोलनको तयारी
सिंचाई आयोजनाको चुप्पीले किसानहरूलाई सडकमा आउन बाध्य बनाएको छ। जल उपभोक्ता समितिले कार्यालयमा धर्ना दिने, तालाबन्दी गर्ने र आवश्यक परे आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ।
अध्यक्ष आजादको खबरदारी
अध्यक्ष आजाद किसानसँगै उभिएका छन् – खेतको छेउमा, नहरको मुहानमा र आन्दोलनको मोर्चामा। उनले स्पष्ट शब्दमा भने, “किसानको लागि म जुनसुकै तहमा पनि लड्न तयार छु। पानी नआएसम्म म चुप लागेर बस्दिन।”
भर्खरै उनी बतिस अड्डी नहरको निरीक्षणमै गएका थिए। त्यहाँ उनले इन्जिनियरहरूसँग बारम्बार छलफल गरे। ‘पानी कहिले आउँछ?’ भन्ने प्रश्नमा एकरत्ति पनि गम्भीर जवाफ पाउन सकेनन्। उनले फेरि ताकेता गरे – यो पटक कडाइका साथ।
पानी आउनुपर्छ, किसान बच्नुपर्छ
आजादको नेतृत्व किसानका लागि आशाको किरण बनेको छ। उनी जस्ता जनप्रतिनिधिले गर्दा अझै पनि किसानले बाँच्न सकिन्छ भन्ने विश्वास गरेका छन्। तर समयमै समाधान नभए, आन्दोलन चर्किनेछ।
किसान भोकभोकै मर्छन् भने शासकहरूको सत्ताले तगड टेर्छ? सरकारको गम्भीर चासो नपुग्दासम्म यो समस्या सानो छैन। सुकसेना शाखा नहर सुक्दै जाँदा किसान मर्दै छन् – र अध्यक्ष आजाद किसानको आवाज बनेर गुञ्जिरहेका छन्, “यो पीडा सुन्ने छैन भने, लड्ने बाध्यता हामीले रोज्नेछौं।”










Discussion about this post