इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित उराँव टोलमा झन्डै एक महिना अघि भएको भीषण आगलागीबाट विस्थापित ६ परिवार अझै पूर्णरूपमा पुनःस्थापित हुन सकेका छैनन्। करिव एक महिनाअघि भएको आगलागीमा बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव, सबो उराँव, रमेश उराँव र ललिता उराँवका घरहरू पूर्णरूपमा जलेर नष्ट भएका थिए।
आगलागीको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धानअनुसार खाना पकाउने क्रममा सल्केको आगो एकपछि अर्को गरी घरहरूमा फैलिएको थियो। काठ, फुस र खरले बनेका घरहरू भएका कारण आगो नियन्त्रणभन्दा बाहिर गएकाले धेरै क्षति भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। आगलागीका कारण पीडित परिवारका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, कागजात, नगदसहित सबै सामान जलेर नष्ट भएको थियो।
घटनाको खबर पाएलगत्तै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, वडाध्यक्षहरु तथा स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। पीडित परिवारको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो। गाउँपालिकाले त्यसपछि तुरुन्तै खाद्यान्न, लत्ताकपडा, त्रिपाल, पानीलगायतका राहत सामग्री उपलब्ध गराएको थियो।
चैत २६ गते मंगलबार पुनः अर्को पटक पीडितहरूलाई राहत वितरण गरिएको छ। संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्की, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, स्वास्थ्य शाखा प्रमुख हिरा साह, नेपाली कांग्रेस गाउँ समिति सभापति युवराज दाहाल लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो।
राहतस्वरूप पीडित परिवारलाई चामल, दाल, तेल, नुन, लत्ताकपडा र खानेपानी प्याकेज प्रदान गरिएको थियो। राहत वितरण कार्यक्रममा बोल्दै सांसद कार्कीले पीडितको घर पुनर्निर्माणका लागि संघीय सरकार स्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। मन्त्री मण्डलले प्रदेश सरकार पनि सहयोगका लागि तत्पर रहेको बताए।
अध्यक्ष अजमल आजादले भने, “गाउँपालिकाले यथासक्य सबै प्रकारको सहयोग गरिरहेको छ। पीडितको स्थायी पुनःस्थापनाका लागि योजना बनाइँदैछ।”
यद्यपि, आगलागी भएको एक महिना बितिसक्दा पनि पीडित परिवारहरू अझै टहरोमा बस्न बाध्य छन्। दैनिक गुजारा चलाउनसमेत कठिनाइ भएको उनीहरूले गुनासो गरेका छन्। “लत्ताकपडा, भाँडा सबै जले, अहिले पनि कोहीकोही छिमेकीको घरमा बसेका छौं,” पीडित रमेश उराँव भन्छन्।
स्थानीय बासिन्दाहरूले पीडित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि गाउँपालिका मात्र नभई प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गराएका छन्।
आगलागीबाट विस्थापित ६ वटै परिवार गरिब र मजदुर वर्गका हुन्। उनीहरू खेतीपाती, ज्यालादारी तथा मजदुरी गरेर जिविका चलाउने गर्दथे। घर पूर्ण रूपमा जलेपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको छ।
सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा दीर्घकालीन पुनःस्थापनाको पहल भइरहेको जनाइएको छ। गाउँपालिकाले तत्काल पीडितको घर निर्माणको प्रारम्भिक लागतको अनुमान तयारी गरिरहेको र सम्बन्धित निकायमा पेश गर्ने तयारी भइरहेको जनाएको छ।










Discussion about this post