दिपेन्द्र यादव/इनरुवा –
“म राजनीतिमा पदका लागि होइन, जनताको सेवा गर्ने उद्देश्यका साथ आएको हुँ। जनताको समस्यालाई आफ्नो समस्या ठानेर समाधान खोज्नु नै मेरो पहिलो कर्तव्य हो। गाउँपालिकाको समृद्धि नै मेरो सपना हो, र त्यो सपना पुरा गर्न म सधैं जनताको साथमा छु।” – यी प्रेरणादायी भनाइ हुन् देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताका, जसले सेवा, संकल्प र साधनालाई जीवनको मूल मन्त्र बनाउँदै स्थानीय नेतृत्वलाई उदाहरणीय बनाएका छन्।
नेता होइन अभिभावकको पहिचान
सुनसरीको देवानगञ्ज गाउँपालिका जहाँ राजनीति मात्र नेतृत्वको साधन मानिन्थ्यो, त्यहाँ मेहताले “सेवामुखी राजनीति” को नयाँ परिभाषा दिएका छन्। उनी पदमा बसेको हैसियतले होइन, जनताका बीच काम गरेर जनताको विश्वास जित्ने नेतालाई प्रतिनिधित्व गर्छन्।
विपन्न समुदायको घरमा चामल पुर्याउनेदेखि बाढीपीडितलाई उद्धार गर्न आफैं ट्र्याक्टरमा चढेर जान्छन्। यो शैलीले जनतामा यस्तो भावना बलियो बनाएको छ– “हाम्रो पालिकामा समस्या पर्नु भनेको मेहताको काँधमा पुग्नु हो।”
कृषि विकासमा आत्मनिर्भरता अभियान
“किसान समृद्ध भए मात्र गाउँ समृद्ध हुन्छ,” भन्ने अध्यक्ष मेहताले गाउँपालिका भरिका किसानलाई तालिम, बीउ वितरण, सिँचाइ सहजीकरण र बजारीकरणमा जोड दिएका छन्। उनले सुरु गरेका कृषि अनुदान कार्यक्रमहरूले युवा पनि खेतीतर्फ आकर्षित हुन थालेका छन्।
“हामी पहिले पसिना बगाएर पनि घाटामा थियौं, अहिले मेहताजीको योजना आउँदा लाभ लिन थालेका छौं,” स्थानीय किसान रामनारायण यादव बताउँछन्।
शिक्षा र स्वास्थ्यमा सुधारको आधारशिला
विद्यालयमा गुणस्तरीय शिक्षा, शिक्षकको नियमितता, स्वास्थ्य चौकीमा दक्ष जनशक्ति र अत्यावश्यक औषधिको सुनिश्चितता अध्यक्ष मेहताको प्रमुख प्राथमिकता हो। उनले सामुदायिक स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएर गाउँमै उपचारको पहुँच सम्भव बनाएका छन्।
“पहिले सानो रुघाखोकीका लागि पनि बजार धाउनुपर्थ्यो, अहिले गाउँमै उपचार पाउँछौं,” भन्छिन् देवानगञ्ज–३ की बासिन्दा माया देवी।
समाजसेवामा नेतृत्वको पहिचान
सामाजिक कार्यक्रम, सांस्कृतिक जागरण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, दलित समुदायको सशक्तीकरण— सबै क्षेत्रमा मेहताको सक्रियता उल्लेखनीय छ। कुश जयन्तीमा समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप उनले प्राप्त गरेको सम्मानले उनीप्रतिको जनविश्वास झनै बलियो बनाएको छ।
सधैं सर्वसुलभ, सरल र सजग
अध्यक्ष मेहताको एउटा विशेषता भनेको— उनीकहाँ पुग्न कुनै समय, प्रक्रिया वा ‘मिडलम्यान’ चाहिँदैन। जनताले फोन गरे पुग्छ। उहाँ आफैं समस्या सुन्छन्, समाधानका लागि पहल गर्छन्।
चिया पसलमा बसेर आम नागरिकसँग जनजीविकाको चिया गफ, खेतबारीमा किसानसँगै पसिना बगाउनु, सामुदायिक भवनमा युवा सँग छलफल, यी सबैले उनको नेतृत्वलाई ‘कागजी’ होइन, ‘कर्ममा आधारित’ बनाएको छ।
यता राजनीतिमा सत्ताको मोह होइन, सेवाको भावना हावी हुन सके त्यसले नै समाज रुपान्तरण गर्छ। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले त्यही सेवामूलक राजनीति प्रस्तुत गर्दै जनतामा ‘भरोसा’ को एक बलियो किल्ला बनाएका छन्।
उनको जीवनशैली, कार्यशैली र समर्पण भाव भविष्यका लागि न केवल देवानगञ्ज, तर समग्र स्थानीय शासनमा अध्ययन र अनुकरणीय विषय बन्नसक्छ।










Discussion about this post