रन्धिर यादव/इनरुवा – सुनसरी जिल्लाका विभिन्न स्थानमा सतुवाइन र सिरूवा पर्व परम्परागत हर्षोल्लासका साथ मनाइएको छ। विशेष गरी थारु, मुस्लिम तथा मधेसी समुदायबीच लोकप्रिय यी चाडपर्वहरू आपसी सद्भाव, सांस्कृतिक पहिचान र मौलिक परम्पराको प्रतीकका रूपमा मनाइने गरिन्छ।
सिरूवा पर्व थारु समुदायको नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यो अवसरमा थारु समुदायले घरघरमा विशेष परिकार पकाउने, पुराना रिसराग बिर्सिएर मेलमिलाप गर्ने, परम्परागत झाँकी र नाचगान प्रस्तुत गर्ने प्रचलन रहिआएको छ। बासिन्दाहरू आ–आफ्नो सांस्कृतिक पहिरनमा सजिएर सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै सिरूवा पर्वलाई उल्लासपूर्वक मनाउँदै आएका छन्।
त्यस्तै, मुस्लिम समुदायमा सतुवाइन पर्वको विशिष्ट धार्मिक र सांस्कृतिक महत्व रहेको पाइन्छ। यस पर्वमा शरीरलाई शुद्ध बनाउने र गर्मी यामलाई सहज रूपमा स्वागत गर्ने उद्देश्यले सत्तु, खजूर, दलिया, दूध, आँप जस्ता परिकारहरूको सेवन गरिन्छ। सतुवाइनलाई ‘गर्मी भगाउने’ पर्वका रूपमा लिने गरिन्छ।
सुनसरीका इनरुवा, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका लगायतका क्षेत्रमा यी पर्वहरू व्यापक रूपले मनाइएको छ। गाउँका चोक–चोकमा युवाहरूको रमाइलो, वृद्धवृद्धाको आत्मीय भेटघाट, परम्परागत नाचगान तथा सांस्कृतिक माहोलले वातावरण उत्सवमय बनेको देखिन्छ।
यद्यपि केही स्थानहरूमा सतुवाइन आइतबार मनाइएको छ भने, कतिपय ठाउँमा सोमबार अर्थात् भोलि मात्र सिरूवा पर्व मनाउने तयारी गरिएको छ। स्थानीय परम्परा र चन्द्रमासको गणनाअनुसार पर्व मनाउने मिति केही भिन्न पर्ने जनाइएको छ।
स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूका अनुसार यस्ता पर्वहरूले समुदायहरूबीचको आपसी एकता, मेलमिलाप र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूले समेत शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरूलाई आपसी सौहार्द, सहिष्णुता र शान्तिको माध्यमका रूपमा मनाउन सबैलाई आग्रह गरेका छन्।










Discussion about this post