देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित एकदिने तालिम कार्यक्रमको शुभारम्भ गरिएको छ।
देवानगञ्ज गाउँपालिका–५ स्थित जनप्रगतिशील माविको सभा हलमा उद्घाटन गरिएको उक्त तालिम वैशाख ३ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले गरे। उद्घाटन समारोहमा गाउँपालिकाका पदाधिकारीहरू, सामाजिक अभियन्ता, तालिम प्रशिक्षक, सहभागीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रमुख प्रशासकीय अधिकृत साफीले उद्घाटन समारोहमा बोल्दै बहिरा व्यक्तिहरूको मौलिक हक अधिकार सुनिश्चित गर्न यस्ता तालिमहरू अत्यन्तै उपयोगी हुने बताए। “समाजका सबै वर्गको समावेशिता सुनिश्चित गर्न हामीले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँछ।”
नेपाल बहिरा हित तथा संरक्षण समाजका प्रतिनिधि मधुकुमार भण्डारीका अनुसार, तालिममा सहभागीसँग सांकेतिक भाषा सम्बन्धी आधारभूत जानकारी आदानप्रदान गरिनेछ, जसले बहिरा व्यक्तिहरूसँग प्रभावकारी संवाद गर्न मद्दत गर्नेछ। तालिममा विशेषगरी स्थानीय युवा वर्गको उत्साहजनक सहभागिता रहेको छ।
कार्यक्रम संयोजक शर्मिला काफ्लेले यस्ता तालिमहरूबाट बहिरा समुदायप्रति समाजमा सकारात्मक सोच र व्यवहार निर्माण हुने विश्वास व्यक्त गरिन्। “यस तालिमले बहिरा व्यक्तिहरूलाई सामाजिक तथा व्यावसायिक क्षेत्रमा समान अवसर प्राप्त गर्न सहयोग पुर्याउनेछ,” उनले भनिन्।
तालिमको समापनपछि सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरिने छ। आयोजक संस्थाहरूले यस्ता कार्यक्रमहरूमार्फत समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेका छन्।










Discussion about this post