विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०८१/०८२ को चैत महिनासम्ममा ८३ प्रतिशत कर असुली गरेको छ। कार्यालयले उक्त अवधिमा ७ अर्ब ३४ करोड ७० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ८ करोड ८१ लाख २२ हजार रुपैयाँ संकलन गर्न सफल भएको हो।
कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्यका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको कर असुली ७.५० प्रतिशतले वृद्धि भएको छ।
उनका अनुसार चैतसम्म आयकरतर्फ २ अर्ब ८४ करोड ३५ लाख रुपैयाँ असुली गर्ने लक्ष्य थियो, जसमा २ अर्ब १३ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) अन्तर्गत २ अर्ब ७ करोड ३४ लाख रुपैयाँको लक्ष्यमा १ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ उठाइएको छ भने अन्तःशुल्कतर्फ २ अर्ब १६ करोड १९ लाख रुपैयाँको लक्ष्यमा २ अर्ब १ करोड २३ लाख रुपैयाँ संकलन भएको छ।
शाक्यका अनुसार कार्यालयले चालु आर्थिक वर्षभरमा कुल १० अर्ब ७२ करोड रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको छ। हालसम्म (चैत अन्त्यसम्म) सो लक्ष्यको करिब ५७ प्रतिशत राजस्व संकलन भइसकेको छ।
उनले लक्ष्यअनुसारको कर संकलनमा औद्योगिक क्षेत्रको सक्रियता, करदाताको करप्रति बढ्दो सचेतना र निरन्तर अनुगमनले सकारात्मक प्रभाव पारेको बताए।










Discussion about this post