सुरेन्द्र मेहता/इनरुवा — सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार बिहान आगलागी हुँदा पाँच परिवारको घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय बासिन्दाले जनाएका छन्।
स्थानीय बाबुनन्द गोइतको गाईवस्तु धपाउन बालेको घुर (धुँवाको आगो)बाट आगलागी फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी बाबुनन्द गोइत, रमानन्द यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घरमा फैलिँदा कुल १० वटा घर जलेका हुन्।
“आगोले सबै घर जलेर नष्ट भयो। घरभित्र रहेका नगद, गरगहना, लत्ताकपडा, अन्नपात र फर्निचर सबै सखाप भएका छन्,” स्थानीय वीरेन्द्रकुमार यादवले जानकारी दिए। उनका अनुसार बाबुनन्द गोइतको मात्रै एक लाख रुपैयाँ नगद आगोमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीका अनुसार सुनचाँदीका गहना, भाँडाकुडा, अन्य सम्पत्ति तथा दैनिक उपभोग्य सबै सामग्री जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र कोशी गाउँपालिकाको दमकलको सहयोगमा करिब एक घण्टासम्म प्रयास गरिएको थियो।
घटनापछि स्थानीय प्रशासनले क्षतिको विवरण संकलन थालेको छ भने पीडितलाई तत्काल राहत उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।










Discussion about this post