काठमाडौँ – कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन्। घटनामा अध्यक्ष चौधरी भने भाग्यवश सकुशल रहेका छन्।
प्रहरीका अनुसार बिहीबार राति करिब ११ः३० बजे मायादेवी गाउँपालिका–१, पकडीस्थित चौधरीको निजी निवासमा उनीमाथि गोली प्रहार भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीले घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान जारी रहेको जनाएका छन्।
डीएसपी अधिकारीका अनुसार रातिको समयमा विद्युत आपूर्ति अवरुद्ध भएपछि अध्यक्ष चौधरी शौचालय गएका थिए। फर्किने क्रममा घरको कम्पाउन्ड बाहिरबाट अज्ञात व्यक्तिले उनीमाथि पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गोली घरको कम्पाउन्ड बाहिरवाट प्रहार गरिएको थियो र अध्यक्ष चौधरीले त्यसको जानकारी प्रहरीलाई दिएका छन्। गोली उनीमाथि लाग्न नपाएकाले उनी सकुशल रहेको र उनलाई कुनै चोटपटक नलागेको बताइएको छ।
प्रहरीले घटनास्थलबाट एकथान गोलीको खोका बरामद गरेको छ भने घटनाको प्रकृति, उद्देश्य र संभावित संलग्नता विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।
घटनाले शान्त मानिएको ग्रामीण क्षेत्रमा सुरक्षाको सवाल पुनः उठाएको छ। यस विषयमा स्थानीयवासीले गम्भीर ध्यान दिनु पर्ने माग गरेका छन्।










Discussion about this post