इनरुवा । सुनसरीको बेलाहा सीमावर्ती क्षेत्रमा फेरि एकपटक लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। भारतको बेलाहाबाट नेपाल छिर्न खोज्दै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) लौकही अन्तर्गतको फर्वार्ड पोस्ट ईसरायत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उक्त टोलीले चेकजाँचका क्रममा चरेससहित दुई युवकलाई मोटरसाइकलबाटै पक्राउ गरेको हो।
प्रदेश १–०३–००१ प २७४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार ईनरुवा नगरपालिका–२ निवासी २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीको साथबाट कालो प्लास्टिकमा बेरेर राखिएको २.६० ग्राम तौलको चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमको नेतृत्वमा रहेको बीओपी लौकहीले लामो समयदेखि सीमावर्ती क्षेत्रमा सक्रिय रूपमा लागुऔषध, चोरीपैठारी तथा अन्य गैरकानुनी गतिविधिहरू नियन्त्रणमा राख्न निरन्तर निगरानी गरिरहेको छ। प्रहरी निरीक्षक गौतम भन्छन्, “हाम्रा नाकाहरू केवल देशभित्र छिर्ने ढोका होइनन्, यी सीमा हाम्रो सुरक्षा सर्कलका संवेदनशील भाग हुन्, जहाँबाट मुलुकमा नशाको चपेटा छिर्छ। हामी यस्तो नाकाबाट युवाको भविष्य बिगार्ने हर प्रयासलाई नष्ट गर्छौं।”
उनका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा चरेस, ब्राउन सुगरजस्ता घातक लागुऔषध ओसारपसार गर्ने गिरोहहरू बढी सक्रिय हुन थालेका छन्। प्रहरी निरीक्षक गौतमले थपे, “हामी एक इन्च पनि गस्ती कम गर्दैनौं, किनभने हामीलाई थाहा छ– एउटा सानो कमजोरीले सयौं युवाको भविष्य अन्धकारमा पुग्न सक्छ।”
सशस्त्र प्रहरी हवल्दार हिरा प्रसाद निरौला र सहायक हवल्दार नारायण खड्काको टोलीले चरेससहित सुदिप र नविनलाई नियन्त्रणमा लिँदा उनीहरूको साथबाट Realme र POCO ब्रान्डका मोबाइल, साथै लागुऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा दुई वटा सिमसमेत बरामद गरिएको छ।
सिम नम्बर ९७०१७१८४२१ प्रयोग भई रहेको सुदिपको मोबाइल र नविनको नाममा रहेको ९७०४६७६७०२ सिम प्रयोग भएको मोबाइल अहिले अनुसन्धानको लागि प्रयोगशाला पठाइएको छ। पक्राउ परेका दुवैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा बुझाइएको छ।
यता सुनसरीका सीमावर्ती क्षेत्रहरू – बेलाहा, भण्टाबारी, लौकही, र हरिपुर – पछिल्लो समय लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गइरहेका छन्। यसप्रति चिन्ता व्यक्त गर्दै निरीक्षक गौतमले भने, “हामी यस्ता आपराधिक गतिविधिलाई कुनै पनि हालतमा छिर्न दिंदैनौं। सशस्त्र प्रहरी बल दिनरात सीमामा होस् पुर्याएर देश र जनताको सुरक्षामा कटिबद्ध छ।”
उनको शब्दमा झल्किन्छ, एक प्रहरी अधिकृतको देशप्रेम र कर्तव्यबोध। बेलाहा सीमाबाट चरेससहित पक्राउ परेका युवक त एउटा प्रतिनिधि घटना मात्रै हो, तर यसले देखाउँछ कि सिमानामा नशाको कालो कारोबार कति मौन तर गहिरो रूपमा फैलिएको छ।










Discussion about this post