विशेष खोज रिपोर्ट – नेपालतर्फको सीमा पार गर्दै, जब गाँजाको भारी बोराहरू भारततर्फको बालुवामा ओझेलिए, तब सुरक्षाको एउटा भयावह कडी भत्किएको पुष्टि भयो।
भारतको नरपटपट्टी सीमा चौकीअन्तर्गत एसएसबी ४५ औं बटालियनले जब स्पुर नम्बर २४०० अगाडिको नदीपारी बालुवामा १०६२.२ किलो गाँजासहितका ५०६ बोरा बरामद गर्यो, तब स्पष्ट भयो – गाँजा नेपाली भूमिबाट सफलतापूर्वक भारत पुर्याइएको थियो। र त्यो पनि सीमा सुरक्षा संयन्त्रको आँखै अगाडि।
तर यो अपरेसनपछि उठेको मुख्य प्रश्न के हो भने – गाँजा नेपालबाट निस्कँदा किन कसैले रोकेन?
सीमामा चुपचाप पसारिएको अवैध कारवानी – प्रहरी किन मौन?
नेपाली भूमिमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, गस्ती टोली र सूचना प्रणालीको बहस चलेको दशक बितिसक्यो। तर जब यथार्थ हेर्दा गाँजाको तस्करी जस्तो ठूलो सञ्जाल सुनसरीबाट भारततर्फ सफलतापूर्वक पुग्न सक्छ भने, त्यो बहस अब केवल औपचारिक बोलीझैं लाग्छ।
गस्ती भनिन्छ, तैनाथी भनिन्छ – तर ५०६ बोरा गाँजा सीमाबाट पस्यो, नेपालतर्फका सुरक्षाकर्मीहरूलाई थाहा भएन? वा थाहा भएर पनि थाहा नभएजस्तो गरे?
सूचनाको शून्यता कि सुरक्षा संयन्त्रमा संलग्नता?
नेपालतर्फका सुरक्षाकर्मीहरू चुपचाप छन्। सीमावर्ती क्षेत्रहरू –बसन्तपुर, नरसिंह, देवागञ्ज, भुटाहा, अमडुवा, हरिनगरा – सबै रणनीतिक दृष्टिले संवेदनशील। यिनै क्षेत्र भएर तस्करीको मार्ग तय हुँदै आएको छ।
गाँजा नेपालभित्र जम्मा भयो, तस्करीको नेटवर्क सक्रिय रह्यो, सामान सरेर सीमापार गरियो – तर कुनै खबर सुरक्षाकर्मीलाई भएन? यो पचाउनै नसकिने कुरा हो।
गस्तीको नाममा गफ, र सुरक्षाको नाममा केवल पोस्टिंग?
प्रश्न सोध्नुपर्ने बेला आएको छ –
- गस्तीको प्रतिवेदन कति विश्वसनीय छन्?
- सूचना संकलन कति प्रभावकारी छ?
- प्रहरी–तस्कर सम्बन्धको सम्भावना खार्न मिल्ने प्रमाणहरू खोज्न थाल्नुपर्छ कि अब?
एसएसबीले भारततर्फ गाँजा समातेपछि नेपालतर्फ प्रहरीहरू निरीह देखिएका छन्। अझ गम्भीर कुरा, नेपालतर्फ कुनै ‘सक्रियता’ नदेखिनु, तस्करहरूलाई सहज मार्ग बनाइदिएको संकेत होइन र?
अब प्रश्न तस्करमाथि मात्र होइन – प्रहरीमाथि पनि हो
१०६२.२ किलो गाँजा कुनै सानो सामान होइन। यो कुनै चोरीपैठारीको सामान्य घटनाजस्तो लिएर पन्छिन मिल्दैन। नेपाली भूमिबाट त्यसको सफल ढुवानी हुनु भनेको राष्ट्रको सुरक्षात्मक सञ्जालमै चुक भएको प्रमाण हो।
अब चुप लागेर बस्न पाइँदैन।
अब गस्तीको नाममा ‘ड्युटी’ देखाउने होइन, कर्तव्य पूरा गरेर जनतालाई जवाफ दिनुपर्ने घडी हो।
नेपालको भूमिबाट तस्करी रोक्न सकिएन भने – भोलिको सार्वभौमिकता धुमिल बन्न सक्छ
सिमानाको सुरक्षालाई अझ सुदृढ गर्न, सूचना प्रणालीलाई पुनःसक्रिय पार्न, र हरेक सुरक्षाकर्मीलाई जवाफदेही बनाउने बेला आएको छ।
अब बहानाको भाषा होइन, कारबाहीको आवाज चाहिन्छ।
किनभने राष्ट्रको सीमामा मौनता – संप्रभुतामाथिको खतरासँग मेल खान्छ।










Discussion about this post