सुनसरी— सीमावर्ती क्षेत्रमा लागुऔषधको तस्करी रोक्न सक्रिय रहेको सुरक्षापंक्तिले फेरि एक पटक ठूलो मात्रामा लागुऔषध बरामद गर्न सफल भएको छ। सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि लागू औषधसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ।
लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेका भोजपुर अरुण गाउँपालिका–५ निवासी २६ वर्षीय तेजेन्द्र कार्कीलाई शंका लागी जाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने २ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा युवकले आफैंले चलाएको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको YODDA PICK UP गाडी लौकही बजार क्षेत्रमा पार्किङ गरी राखेको जानकारी दिएका थिए। सोही आधारमा प्रहरीले गाडी जाँच गर्दा झन् चकित पार्ने खुलासा भयो।
“गाडीभित्र ११ वटा बोरामा प्याक गरिएका अवस्थामा गाँजा जस्तो देखिने कुल ३२३.२१ किलोग्राम लागू औषध फेला परेको छ,” प्रहरी उपरीक्षक तिम्सिनाले बताए। “यस प्रकारको ठूलो परिमाणमा गाँजा फेला पर्नु तस्करीको जालो अझै फैलँदो रहेको प्रमाण हो।”
कार्कीलाई लागू औषध र गाडी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको सीमावर्ती क्षेत्र विशेष गरी लागुऔषध ओसारपसारका लागि प्रयोग भइरहेका छन् भन्ने आरोप पछिल्ला घटनाहरूले पुष्टि गरिरहेका छन्। प्रहरीले घटनाको गहिरो अनुसन्धान गरेर संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा नियन्त्रण गर्ने कार्य अघि बढाइरहेको बताइएको छ।
नागरिकका लागि चिन्ताको विषय बन्दै गएको लागुऔषध समस्या, विशेष गरी युवावर्गलाई लक्षित गरी फैलँदै गएको अवस्थामा, यस्ता कारवाहीहरूले केही राहत भने दिएको देखिन्छ। तर दीर्घकालीन समाधानका लागि नीति, सुरक्षा र जनचेतनाको त्रिसूत्रीय पहल आवश्यक देखिन्छ।










Discussion about this post