सुनसरी — सशस्त्र प्रहरीकै संरक्षणमा भाेक्राहा नरसिंह गाउँपालिकाका विभिन्न क्षेत्रहरूबाट लामो समयदेखि गाजा तस्करी हुँदै आएको खुलासा भएको छ। आज साँझ विशेष सूचनाको आधारमा गरिएको अपरेसनमा एक जना तस्कर पक्राउ परेपछि यस विषयमा थप पुष्टि भएको हो।
गाउँपालिका–७ अन्तर्गत नरसिंह क्षेत्र हुँदै भारतीय सीमातर्फ गाजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, बाेर्डर आउट पोष्ट (बीओपी) उल्टी र नेपाल प्रहरी चौकी उल्टीको संयुक्त टोली परिचालित गरिएको थियो। सोही क्रममा केही परिमाणमा गाजासहित एक जना तस्करलाई नियन्त्रणमा लिइएको छ। यद्यपि, अनुसन्धान प्रभावित नहोस् भन्ने हेतुले पक्राउ परेका व्यक्तिको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
सुरक्षाकर्मीहरूकै मिलेमतो ?
स्थानीयवासीहरू आश्चर्यमा छन् — गाउँमा प्रहरी चौकी र सशस्त्रको बीओपीको उपस्थिति हुँदाहुँदै कसरी तस्करी सम्भव भयो ? अझ अचम्म त तब लाग्छ, जब गाजा तस्करीको शङ्काको घेरामा आफैँ सुरक्षाकर्मीहरू पर्ने अवस्था सिर्जना भएको छ।
यता सशस्त्र प्रहरी नायब निरीक्षक इश्वर खुकुरेल र नेपाल प्रहरी चौकी उल्टीका प्रहरी सहायक निरीक्षक रोशन निरौलाले गाजा तस्करीमा संलग्नता देखाएको अशंका स्थानियहरूबाट उठेको समाचार स्रोतको दाबी छ। समाचार स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा बारम्बार गाजा ओसारपसार हुँदा सुरक्षा निकायहरू अनविज्ञ हुनु अस्वाभाविक मानिएको छ। स्थानीयहरू भन्छन् — “गाउँका कुन बाटो खुला छन्, कहाँबाट गाजा जान्छ भन्ने जानकारी प्रहरीलाई नभएको विश्वास गर्न गाह्रो छ।”
भारतीय मिडियामा पनि ‘नेपाली गाजा’
केही दिनअघि भारतको बिहार राज्यमा ठूलो परिमाणमा बरामद भएको गाजालाई नेपाली भएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका थिए। सो गाजा सुनसरी जिल्लाबाट भारत भित्रिएको पुष्टि भारतीय सुरक्षाकर्मीहरूले गरेका छन्। अब भाेक्राहा नरसिंहबाटै उक्त गाजा गएको हो कि होइन भन्ने विषय अनुसन्धानको केन्द्रमा रहेको छ।
स्थानिय प्रशासन मौन, संलग्नता कि लापरवाही ?
यस घटनामा स्थानीय प्रहरी प्रशासन मौन देखिन्छन्, जसले थप शंका पैदा गराएको छ। तस्करीको चुप्पी र स्थानीय प्रशासनको निष्क्रियताले तस्करी जस्ता आपराधिक क्रियाकलापहरूलाई मौन समर्थन गरिरहेको संकेत दिन्छ। यदि सम्बन्धित निकायहरूले बेलैमा गम्भीरता नदेखाउने हो भने भाेक्राहा नरसिंह तस्करीको केन्द्र बन्ने खतरा देखिन्छ।
जिल्ला प्रहरीको भनाइ — अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता योगराज खतिवडाले गाजा बरामद भएको पुष्टि गर्दै भने — “पक्राउ परेका व्यक्ति र गाजाको यकिन तौलबारे हाल अनुसन्धान भइरहेको छ।”
अब के ?
तस्कर पक्राउ परे पनि उनीहरूलाई संरक्षण दिने व्यक्ति को हो, कुन बाटो प्रयोग गरियो, सुरक्षाकर्मीहरू कुन भूमिकामा थिए — यी सबै विषयमा गहिरो अनुसन्धान हुनु जरुरी देखिन्छ। गाजाजस्ता अवैध पदार्थको कारोबारमा सुरक्षाकर्मीहरूको संलग्नता पुष्टि भएमा, यो केवल भ्रष्टाचार होइन, राष्ट्रिय सुरक्षामाथिको गम्भीर चुनौती हुनेछ।
स्थानीयवासी र सचेत नागरिकहरूले सम्पूर्ण घटनाको यथाशीघ्र र निष्पक्ष छानबिनको माग गरिरहेका छन्, जसलाई राज्यले गम्भीरतापूर्वक लिनु आवश्यक छ।










Discussion about this post