इनरुवा — सुनसरी स्थित भोक्राहा नरसिंह गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूलाई लक्षित गरी अपाङ्गता परिचय पत्र वितरण गरेको छ। अपाङ्गता भएका नागरिकहरूलाई राज्यको सेवा, सुविधा तथा हकअधिकारमा पहुँच सुनिश्चित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाको कार्यालय चिरौलिमा आयोजित विशेष कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवले फरक क्षमताका व्यक्तिहरूलाई औपचारिक रूपमा परिचय पत्र वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक न्याय, समावेशिता र पहुँचका लागि गाउँपालिका संवेदनशील रहेको बताइन्। “अपाङ्गता भएका व्यक्तिहरू राज्यका सेवा तथा सुविधाबाट वञ्चित हुन नदिन परिचय पत्र अति आवश्यक उपकरण हो। यसले उनीहरूको पहिचान मात्र होइन, उनीहरूको अधिकार सुनिश्चित गर्न मद्दत गर्छ,” उपाध्यक्ष उराँवले भनिन्।
कार्यक्रममा उपाध्यक्ष उराँवसहित वडा अध्यक्षहरू, सामाजिक विकास शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा, जिल्ला अस्पताल सुनसरीका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख हिरा साहले मेडिकल चेकजाँच र प्रमाणिकरण प्रक्रियाको बारेमा जानकारी दिँदै भने, “प्राविधिक मूल्याङ्कन र प्रतिवेदनका आधारमा फरक क्षमता भएका व्यक्तिहरूलाई प्रमाणित गरेर परिचय पत्र वितरण गरिएको हो। यसमा कुनै पनि अपारदर्शिता नरहोस् भन्ने हाम्रो ध्यान थियो।”
महिला तथा बालबालिका शाखाकी प्रमुख तथा अपाङ्गता कार्यक्रमकी फोकल पर्सन तुलसा निरौलाले समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूप्रति भेदभाव कायम रहेको उल्लेख गर्दै समाज परिवर्तनको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “सरकारका सेवा सुविधा उपयोग गर्न यिनको कानुनी मान्यता आवश्यक छ। यसले उनीहरूलाई आत्मविश्वास दिन्छ।”
त्यस्तै, सीबीआर (कम्युनिटी बेस्ड रिह्याबिलिटेसन) सहजकर्ता आरती मेहताले अपाङ्गता भएका व्यक्तिहरूको समुदायमा पुनःस्थापना तथा समावेशीकरणको आवश्यकता औंल्याउँदै भनिन्, “उनीहरूलाई केवल परिचय पत्रमात्र नभई, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितामा जोड दिनु आवश्यक छ।” कार्यक्रमका अर्का सहभागी अपाङ्गता सहजकर्ता रेनु कुमारी मेहताले पनि अपाङ्गता मूल्याङ्कनको प्रक्रियाको बिस्तृत विवरण प्रस्तुत गरेकी थिइन्।
जिल्ला अस्पताल सुनसरीबाट आएका स्वास्थ्यकर्मी तथा विशेषज्ञ टोलीले कार्यक्रमपूर्व अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी तिनीहरूको क्षमता मूल्याङ्कन गरेका थिए। प्राप्त स्वास्थ्य रिपोर्टको आधारमा दर्जनौँ व्यक्तिहरूलाई सोही दिन परिचय पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको सामाजिक विकास शाखाका अनुसार, यस कार्यक्रममार्फत प्रारम्भिक चरणमा अपाङ्गता भएका ३७ जना व्यक्तिहरूलाई परिचय पत्र वितरण गरिएको छ। बाँकी अपाङ्गता भएका व्यक्तिहरूको नाम दर्ता तथा आवश्यक प्रक्रिया पुरा भएपछि दोस्रो चरणमा पुनः वितरण गरिने योजना रहेको शाखाका प्रतिनिधिले जानकारी दिए।
स्थानीय बासिन्दाहरूले गाउँपालिका स्तरमै यस्ता सेवा पाउँदा खुशी व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी एक अभिभावकले भने, “पहिला यस्तो कामका लागि जिल्ला कार्यालय धाउनु पर्थ्यो, अहिले गाउँमै सेवा पाएपछि हामीजस्ता सर्वसाधारणलाई धेरै सजिलो भएको छ।”
गाउँपालिकाले यसअघि पनि फरक क्षमताका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श सेवा, आवास निर्माण सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउन अभिभावकहरूसँग समन्वय गर्ने कार्य पनि नियमित रूपमा भइरहेको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अपाङ्गता भएका नागरिकहरूलाई समावेश गरेर समतामूलक समाज निर्माण गर्ने कार्यमा गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन्। “हामी कुनै पनि नागरिकलाई पछाडि पार्न चाहँदैनौं। अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका समान सदस्य हुन्। उनीहरूको अधिकार सुनिश्चित गर्नु हाम्रो दायित्व हो,” अध्यक्ष आजादले भनेका छन्।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक संकलन, मूल्याङ्कन, रेखदेख तथा सशक्तिकरणका लागि आगामी दिनमा अझ सशक्त कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी पनि दिएको छ।
रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...










Discussion about this post