सुनसरी – विश्व मजदुर दिवस (मे १) २०८२ को अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले विशेषगरी श्रमिक वर्गका श्रम, योगदान र बलिदानप्रति उच्च सम्मान प्रकट गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।
अध्यक्ष आजादले जारी गर्नुभएको शुभकामना सन्देशमा प्रत्येक वर्ष मे १ तारिखमा मनाइने मजदुर दिवसले श्रमिकहरूका हक, हित, अधिकार र स्वतन्त्रताको रक्षाका लागि विश्वभरिका श्रमजीवी वर्गलाई एक सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सन्देशमा उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई रोजगारी तथा श्रमको हक सुनिश्चित गरेको स्मरण गराउँदै देशको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनको प्रवर्द्धन तथा उद्यमशीलताको विकास अपरिहार्य रहेको धारणा राखेका छन्। उनले उत्पादनशीलता वृद्धिका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको भूमिकालाई बराबर महत्त्वको रूपमा उल्लेख गर्दै मर्यादित श्रमको वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
त्यसैगरी, कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोत साधनको दिगो उपयोगमार्फत श्रमिक वर्गका लागि अवसर सुनिश्चित गर्न साझा संकल्प आवश्यक रहेको धारणा अध्यक्ष आजादले व्यक्त गरेका छन्। साथै, गाउँपालिका नेतृत्वको हैसियतले आफू श्रमिक हितका सवालमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रमको सम्मान, स्वरोजगारको प्रबर्द्धन, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन्।
अन्त्यमा, अध्यक्ष आजादले विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको उपयोग, श्रमको सम्मान, श्रमिक अधिकारको संरक्षण तथा न्यायोचित श्रम प्रणालीको विकासतर्फ सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।










Discussion about this post