रन्धिर यादव/इनरुवा — सुनसरी जिल्लामा सुरक्षित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले इनरुवा नगरपालिकाले सञ्चालन गर्दै आएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत प्रहरी निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। वैदेशिक रोजगारीका क्रममा हुने ठगी र जोखिम न्यूनीकरणका लागि प्रहरीले निभाउनुपर्ने भूमिकालाई सशक्त बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको सभाहलमा सम्पन्न अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले श्रम सम्बन्धी कानुनी पक्षबारे विस्तृत जानकारी गराउँदै प्रहरीलाई सचेत गराएका थिए। उनले वैदेशिक रोजगार ऐन, पछिल्ला श्रम नीतिहरू, नियमन प्रणाली तथा सरकारी संयन्त्रले लिएको दिशा–निर्देशनबारे व्याख्या गर्दै प्रहरीलाई त्यसअनुसारको भूमिकामा उत्रिन आग्रह गरे।
कार्यक्रममा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले वैदेशिक रोजगारी नेपाली जनशक्तिको ठूलो हिस्सा आकर्षित गर्ने क्षेत्र भएपनि, यसमा रहेका जोखिम र ठगीका घटनाले गम्भीर सामाजिक–आर्थिक असर पारिरहेको बताए। “सही जानकारी र सीप बिना विदेश जानु आत्मघाती बन्न सक्छ,” उनले भने, “त्यसैले स्थानीय तहदेखि सुरक्षा निकायसम्म मिलेर काम गर्नुपर्छ।”
कार्यक्रममा सहभागी चौकी तथा इलाका प्रहरी प्रमुखहरूलाई लक्षित गरी ‘स्रोतदेखि गन्तव्यसम्मको आप्रवासन प्रक्रिया’ मा देखिने सम्भावित जोखिम, मानव तस्करीको चिनारी, र श्रमिक सुरक्षाको आधारभूत ज्ञान सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो। सामी कार्यक्रमका जिल्ला संयोजक धीरज भट्टराईका अनुसार, यो कार्यक्रम चौथो चरणमा प्रवेश गर्दै जिल्लामा कार्यरत प्रहरीलाई प्रत्यक्षरूपमा संलग्न गराउने उद्देश्य लिएको हो।
कार्यक्रममा प्रहरी निरीक्षक पर्शुराम राईले जिल्लामा देखिएका ठगीका घटनाहरू, तिनीहरूको अनुसन्धान प्रक्रिया, र आगामी रणनीति विषयक प्रस्तुति दिएका थिए। उनले सुरक्षात्मक अनुसन्धान प्रविधि र तथ्यगत निगरानीमार्फतै मात्रै मानव तस्करी तथा वैदेशिक रोजगार ठगी नियन्त्रण सम्भव हुने धारणा राखे।
नारा मात्र होइन, व्यवहारमा रूपान्तरण आवश्यक
‘स्वदेशमा रोजगारी गरौं, विदेश जानुपरेमा सही सूचना र सीप लिएर मात्र जाऔं’ भन्ने नारालाई व्यवहारमा उतार्न स्थानीय सरकार, प्रहरी प्रशासन र सरोकारवाला निकायहरूको सामूहिक पहल अपरिहार्य देखिन्छ। यस्तो कार्यक्रमले एकातर्फ प्रहरीलाई सजग बनाउँछ भने अर्कोतर्फ रोजगारी खोज्दै विदेश जाने व्यक्तिहरूका लागि भरपर्दो सूचना केन्द्रको काम गर्दछ।
यता विश्लेषकहरूका अनुसार, यदि यस्तो समन्वित प्रयास निरन्तर र व्यवहारमुखी ढंगले अघि बढाइयो भने, वैदेशिक रोजगारीको नाममा हुने ठगी, शोषण र मानव तस्करीजस्ता अपराधहरूमा उल्लेखनीय कमी ल्याउन सकिन्छ।










Discussion about this post