दिपेन्द्र यादव/ इनरुवा —सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण धार्मिक तथा सामुदायिक विद्यालयहरूमा ‘विद्यार्थी अभियान’ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्थानीय सरकारले समावेशी, सुलभ र गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिने दिशामा नीति तथा कार्यक्रमहरू अघि बढाइरहेको बताएका छन्।
सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित एक समिक्षात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आजादले विद्यार्थीहरूको विद्यालयमा पहुँच, नियमित उपस्थिति र सिकाइ प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “बालबालिकाको शिक्षामा अभिभावक, शिक्षक र समुदायबीचको त्रिकोणात्मक सहकार्य अपरिहार्य छ। हामी शिक्षालाई केवल सेवा होइन, मानव विकासको मुख्य आधारको रूपमा लिएका छौं।”
गाउँपालिकाले केही साताअघि प्रारम्भ गरेको ‘सबै बालबालिका विद्यालय जाऔं’ अभियान अन्तर्गत वडास्तरीय अभियान संयन्त्रहरू गठन भइरहेका छन्। अभियानमा सामुदायिक विद्यालय, मदरसा तथा निजी शैक्षिक संस्थाहरूलाई एकै संरचनामा ल्याई समान अवसर र जिम्मेवारी सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ।
अध्यक्ष आजादले धार्मिक विद्यालयहरूको सन्दर्भमा भने, “हामी धार्मिक शिक्षासँगै वैज्ञानिक सोच र समावेशी दृष्टिकोणको समायोजन गर्दै जानेछौं। धार्मिक तथा परम्परागत ज्ञानलाई पछाडि नपारिकन आधुनिक शिक्षा प्रणालीसँग तालमेल मिलाउँदै शिक्षाको पहुँच र गुणस्तर वृद्धि गर्न प्रतिबद्ध छौं।”
शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाले समेत विद्यार्थी अभियानलाई संस्थागत बनाउन सबै सरोकारवाला निकायबीच स्पष्ट कार्यविभाजन र नियमित मूल्यांकन प्रणाली आवश्यक रहेको बताए। उनले वडास्तरीय शिक्षा समन्वय समितिहरूको प्रभावकारी सञ्चालनले अभियानलाई दिगो बनाउने विश्वास व्यक्त गरे।
स्थानीय महिला समूह, युवा क्लब, शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति लगायत सरोकारवाला निकायको सहकार्यमा विद्यार्थी अभियानले प्रभावकारीता पाउने अपेक्षा गरिएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा बालमैत्री वातावरण निर्माण, बालविवाह न्यूनीकरण तथा शैक्षिक बहिष्कारको अन्त्यलाई समेत अभियानको मूल उद्देश्यका रूपमा लिएको जनाएको छ।










Discussion about this post