इनरुवा – काेशी प्रदेशका विभिन्न स्थानमा सूचीकृत तथा दर्ता नभएका धानका जात र अन्य बालीका बीउ बिक्री वितरण भएको भेटिएपछि किसानहरू ठगिएको गुनासो तीव्र भएको छ। बिउ विक्रेताहरूले किसानहरूलाई विभिन्न नाममा दर्ता नभएका बीउ बेच्दै आएको पाइएको हो।
प्रदेशमा सूचीकृत नभएका बीउहरू वितरण तथा उत्पादन भएको उजुरीपछि प्रदेश कृषि मन्त्रालयले कडा रूपमा निगरानी सुरु गरेको छ। मन्त्री खगेन्द्र सिंह हाङगामले कार्यभार सम्हालेपछि बीउ विजनसम्बन्धी ऐन र नियम कार्यान्वयनमा कडाइ गरिने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सचिव शरण कुमार पाण्डेको नेतृत्वमा तत्काल निरीक्षण समिति गठन गरिएको थियो।
समितिमा झुम्कास्थित बीउ विजन प्रयोगशाला, ज्ञान केन्द्र, वाली विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोत्तम जोशी सहभागी थिए। अनुगमनका क्रममा विभिन्न स्थानमा संचालित बीउ पसलहरूले अनुमति पत्र नवीकरण नगरेको, कतिपयले त अनुमति नै नलिई बीउ वितरण गरेको पाइएको छ।
स्तलगत अनुगमनका क्रममा थाहा पाएपछि धेरै पसलहरू बन्द भएका थिए। कोशी गाउँपालिकामा एक पसल बिना अनुमति सञ्चालन भइरहेको भेटिएको छ भने भोक्राहा नरसिंह गाउँपालिकामा पसलहरू बन्द गरिए पनि सूचित नभएको बीउ पसलबाहिर भेटिएकोले स्थानीय वडाध्यक्षको जिम्मामा जफत गरिएको छ।
यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड, इटहरीले बीउ व्यवसाय प्रमाणपत्र नलिएका व्यवसायीलाई पनि धानको बीउ उपलब्ध गराएको भेटिएको छ।
अनुगमन टोलीका अनुसार, बिना अनुमति कारोबार हुने स्थानहरूमा कोशी गाउँपालिकामा ३, इनरुवामा ३ र भोक्राहा नर्सिङ गाउँपालिकामा १ स्थान रहेका छन्। मन्त्रालयले अब अझ कडाइका साथ नियम विपरीत कारोबारमा संलग्नहरूविरुद्ध कारबाही अघि बढाउने बताएको छ।










Discussion about this post