सुनसरी । शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका चार सामुदायिक तथा धार्मिक विद्यालयहरूमा निःशुल्क पाठ्यपुस्तक, झोला र कापी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
शैक्षिक सत्र २०८१/८२ बाट अंग्रेजी माध्यममा कक्षा १ र २ मा अध्यापन सुरु गरिएको विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको हो। सामग्री वितरण गरिएका विद्यालयहरूमा श्री शारदा माध्यमिक विद्यालय (वडा नं. १), श्री जनता माध्यमिक विद्यालय (वडा नं. ७), श्री पृथ्वीनारायण माध्यमिक विद्यालय र श्री जामिया इस्लामिया मदरसा (दुबै वडा नं. ४) रहेका छन्।
शैक्षिक सामग्री वितरणका क्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने,
“हामीले सबै वडामा गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्न निरन्तर प्रयास गरिरहेका छौं। अंग्रेजी माध्यमबाट शिक्षाको सुरुवात केवल नयाँ माध्यमको प्रयोग होइन, भविष्य निर्माणतर्फको ठोस पाइला हो। अहिले वितरण गरिएको पाठ्यपुस्तक, झोला र कापीले विद्यार्थीहरूलाई अध्ययनमा सहजता ल्याउनेछ। हामी हाम्रा सामुदायिक र धार्मिक विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षाको मूलधारमा ल्याउने दृढ संकल्पका साथ अघि बढिरहेका छौं।”
त्यसैगरी वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालयमा वडाध्यक्ष बौवालाल यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बोल्दै यादवले भने,
“विद्यालयमा अंग्रेजी माध्यमले नयाँ उत्साह ल्याएको छ। अभिभावकहरू पनि खुसी छन्। गाउँपालिकाले गरेको यो पहल सराहनीय छ।”
त्यस्तै, वडा नं. ४ अन्तर्गतका विद्यालयहरूमा सम्पन्न कार्यक्रम वडाध्यक्ष हारून अंसारीको अध्यक्षतामा सम्पन्न भयो। उनले भने,
“शिक्षाको पहुँच मात्र होइन, गुणस्तरमा पनि सुधार ल्याउनु हाम्रो उद्देश्य हो। यो कार्यक्रमले त्यसमा टेवा पुर्याउनेछ।”
श्री शारदा माविका कक्षा १ का शिक्षक दिपक यादवले भने,
“विद्यार्थीहरूलाई अंग्रेजी माध्यममा पढाउन सुरूमा केही चुनौती भए पनि यस्ता सहयोगी सामग्रीले सिकाइ प्रक्रिया सहज बनाएको छ।”
त्यस्तै, श्री पृथ्वीनारायण माविका प्रधानाध्यापक नीरकुमार कटुवालले भने,
“विद्यालयमा दाेस्राे पटक अंग्रेजी माध्यममा पढाइ सुरु गर्दा आवश्यक शैक्षिक सामाग्रीहरूको ठूलो खाँचो थियो। गाउँपालिकाले सही समयमा सहयोग गरेर हामीलाई ठूलो राहत दिएको छ।”
कक्षा २ मा अध्ययनरत छात्रा सुष्मिता खातुनले खुसी हुँदै भनिन्,
“नयाँ झोला र किताब पाएपछि मलाई स्कूल आउन झनै रमाइलो लाग्न थालेको छ। अब म राम्रोसंग पढ्नेछु।”
शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नुका साथै अंग्रेजी माध्यमको शिक्षालाई ग्रामीण क्षेत्रमा स्थापित गर्ने महत्वपूर्ण कार्य भएको सरोकारवालाहरूको धारणा छ।
गाउँपालिकाको योजना अनुसार आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार राय, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, कार्यपालिका सदस्य धर्मनाथ भगत, सचिवालय सदस्य कृष्ण कुमार बिष्ट लगायतकाे सहभागीता रहेको थियोे ।










Discussion about this post