दिपेन्द्र यादव/ इनरुवा — देशको माटो, जनताको सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले आफ्नो १८औं स्थापना दिवस भव्य र गौरवमय रूपमा मनाएको छ। इनरुवा नगरपालिका–४ स्थित गण कार्यालयको हरियाली आँगनमा आयोजित कार्यक्रममा सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि सम्बाेधन गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराहा बाहिनी मुख्यालय, पकलीका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सशस्त्र प्रहरी बलको योगदानलाई स्मरण गर्दै भन्नुभयो, “हाम्रो बल केवल सीमाको पहरेदार मात्र होइन, संस्था नागरिक सुरक्षाको पहिचान, देशको गौरव र राज्यको राजस्व सुरक्षाको मेरुदण्ड हो।”
कार्यक्रमको अध्यक्षता गरिरहेका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले जानकारी गराएअनुसार, गणको स्थापनाले १७ वर्ष पार गरिसकेको छ। नेपाल सरकारको मन्त्री परिषद्को २०६३ साल फागुन ८ गतेको ऐतिहासिक निर्णयले २०६४ साल जेठ १४ गते स्थापना गरिएको यस गणले सुरक्षाको परिभाषालाई नयाँ अर्थ दिन सफल भएको छ। पाँच बिगाहा बाह क्षेत्रफलमा फैलिएको यो गण स्थायी भोगाधिकार सहितको जग्गामा कार्यरत रहेको छ।
विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सशस्त्र प्रहरी बलको अनुशासन, निष्ठा र सेवा भावप्रति आभार प्रकट गर्दै भन्नुभयो, “सीमामा सशस्त्र प्रहरी बलको उपस्थिति स्वयं एउटा विश्वास हो। सुरक्षाका साथसाथै समाजसँग नजिक रहने यो बलले हामीलाई गर्वको अनुभूति गराएको छ।”
सो अवसरमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तुलसी कट्टेल, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी लगायत जिल्लाका विविध निकायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम विविध गतिविधिले भरिएको थियो। खेलकुद प्रतियोगितामा भलिबल, टेबल टेनिस, २ माइल दौड, हतियार ह्यान्डलिङ्ग तथा हाजिरी जवाफ प्रतियोगिता गरिएका थिए। साथै, विद्यालय तथा समुदायमा लक्षित प्रस्तुतीकरणमार्फत उत्कृष्ट योगदान गर्नेहरूलाई सम्मान गरियो।
यसै अवसरमा, भूतपूर्व सशस्त्र प्रहरीसँग अन्तरक्रिया, रक्तदान कार्यक्रम, वृक्षारोपण र धार्मिक तथा सांस्कृतिक स्थल सरसफाइ जस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिहरू सम्पन्न गरिएका थिए।
१८ औं स्थापना दिवसको अवसरमा आयोजित दीपावली कार्यक्रम आगामी जेठ १५ गते भव्य रूपमा मनाइने जनाइएको छ।
देश, जनता र सीमाको निःस्वार्थ सेवामा समर्पित यो सशस्त्र संस्था केवल गण होइन, यो त राष्ट्रको आत्मबल हो।














Discussion about this post