दिपेन्द्र यादव/ सुनसरी — शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित भोक्राहा नरसिंह गाउँपालिकाले सञ्चालनमा ल्याएको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार सामुदायिक तथा धार्मिक विद्यालयमा निःशुल्क पाठ्यपुस्तक, झोला र कापी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
गाउँपालिकाको शैक्षिक सत्र २०८१/८२ देखि वडा नं. ४ मा अवस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा पहिलोपटक अंग्रेजी माध्यमबाट कक्षा १ मा पठनपाठन प्रारम्भ गरिएको थियो। सो कक्षामा ३७ विद्यार्थीहरूलाई विद्यालय पोशाक, पाठ्यपुस्तक, झोला तथा खाजासमेत पालिकाबाट निःशुल्क उपलब्ध गराइएको थियो।
शैक्षिक सत्र २०८२/८३ मा सो विद्यालयमा अंग्रेजी माध्यमलाई निरन्तरता दिँदै कक्षा २ सम्म विस्तार गरिएको छ। साथै, सोही सत्रदेखि वडा नं. १ स्थित शारदा माध्यमिक विद्यालय, वडा नं. ७ को जनता माध्यमिक विद्यालय, र वडा नम्बर ४ का जामिया इस्लामिया मदरसा गरी तीन विद्यालयमा कक्षा १ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको शिक्षा समिति सदस्य कृष्णराज विष्टले जानकारी दिए।
शिक्षा सुधार कार्यक्रम अन्तर्गत छनोट गरिएका विद्यालयहरूमा पालिकाले विद्यालय पोशाक, पाठ्यपुस्तक, झोला तथा खाजाको पूर्ण व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। यो पहलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा आकर्षण बढाएको पालिकाले विश्वास लिएको छ।
शुक्रबार शारदा माध्यमिक विद्यालयमा आयोजित निःशुल्क शैक्षिक सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार मेहता, पूर्व शिक्षक दीपनारायण मेहता, सचिवालय सदस्य पदमबहादुर बस्नेत, समाजसेवी अनवर हुसेन लगायतका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष अजमल अख्तर आजादले अंग्रेजी माध्यमबाट शिक्षाको पहुँच सबै वर्गका बालबालिकासम्म पुर्याउने उद्देश्यका साथ पालिकाले नमूना विद्यालय छनोट गरी शैक्षिक सुधार कार्यक्रम अघि बढाएको उल्लेख गर्दै भने, “शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने हाम्रो मूल लक्ष्य हो। शिक्षकहरूले विद्यार्थीसँग मित्रवत व्यवहार गर्दै उपलब्धिमूलक शिक्षामा ध्यान दिनुपर्छ।”
पालिकाले यसअघि नै पृथ्वीनारायण माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा पनि यस्तै सामग्री वितरण गरिसकेको छ। शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरिएका विद्यालयहरूलाई ‘नमूना विद्यालय’को रूपमा विकास गरिने समेत शिक्षा तथा खेलकुद शाखा प्रमुख रमेशचन्द्र तिम्सिनाले जानकारी दिएको छ।










Discussion about this post