सुनसरी – इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद (ईदुल अजहा) को पावन अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष आजादले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना तथा ‘ईद मुबारक’ व्यक्त गरेका छन्।
उनका अनुसार हिजरी संवत् अनुसार १४३५ वर्षअघिदेखि मनाउन थालिएको यो पर्व इस्लाम धर्मका महान पैगम्बर हजरत इब्राहिम (अ.स.) ले अल्लाहको आदेशमा आफ्ना प्रिय पुत्र इस्माइल (अ.स.) लाई बलिदान गर्न तयार भएको ऐतिहासिक स्मरणमा आधारित छ। आजकाे दिनको स्मरणमा मुस्लिम समुदायले अल्लाहप्रति आस्था र समर्पण प्रकट गर्दै विशेष नमाज अदा गर्ने, पशुबलि दिने र ईदगाह वा मस्जिदमा भेला भई शुभकामना आदान–प्रदान गर्ने परम्परा छ।
अध्यक्ष आजादले धार्मिक तथा सांस्कृतिक विविधताबीचको एकता नेपालको विशेषता भएको उल्लेख गर्दै यस्तो पर्वले जातीय, धार्मिक र सांस्कृतिक सहिष्णुता, मेलमिलाप तथा भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले सबैलाई आपसी रिस–राग, वैमनस्यता र द्वन्द्वलाई त्यागी मित्रता, सद्भाव र शान्तिका साथ पर्व मनाउन आग्रह समेत गरेका छन्।
उनले थपे, “आफ्नो आ–आफ्नो स्थानबाट सकारात्मक सोच, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सक्नेछौं। बकर ईदले हामी सबैलाई समावेशी सोच र सामाजिक एकतामा बाँध्दै समृद्ध नेपाल निर्माणमा योगदान पुर्याओस् भन्ने कामना गर्दछु।”










Discussion about this post