रामधुनी — सुनसरीको रामधुनी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय, सिंगायामा ‘स्कुल टु वर्क ट्रान्जिशन’ कार्यक्रम अन्तर्गत उद्यमशिलता चुनौती तथा परियोजना कार्य प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको साझेदारीमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) अन्तर्गत सञ्चालनमा आएको कार्यक्रमको आयोजना विद्यालयका कक्षा १० का विद्यार्थीहरू लक्षित गरी गरिएको हो। परियोजनाको प्राविधिक पक्षको जिम्मेवारी हेभेटास नेपालले लिएको हो भने संघीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), प्रदेश तहमा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहका १२ वटा गाउँ तथा नगरपालिकाले सहकार्य गर्दै आइरहेका छन्।
विद्यालयमा सम्पन्न कार्यक्रम अन्तर्गत पाँच दिने उद्यमशिलता सत्रमा विद्यार्थीहरूलाई व्यावसायिक योजना निर्माण, यसको महत्व, र कार्यान्वयन प्रक्रिया सम्बन्धि तालिम दिइएको थियो। सहभागी विद्यार्थीहरूलाई पाँच समूहमा विभाजन गरी प्रत्येक समूहले आ–आफ्नो व्यवसायिक योजना तयार पारेर प्रस्तुत गरेका थिए। निर्णायक समितिले उत्कृष्ट तीन योजनाहरू छनोट गरेको थियो। छनोट भएका समूहहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै विद्यालय परिसरमै व्यावसायिक अभ्यास गर्न आवश्यक सहयोग र सहजीकरण गरिने विद्यालयले जनाएको छ।
यस कार्यक्रमबाट कूल ३० जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। रोजगार सेवा केन्द्रका रोजगार संयोजक खगेन्द्र सुव्वाका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम विस्तार गरिनेछ।
संयोजक सुव्वाका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य माध्यमिक तहका विद्यार्थीहरूलाई अध्ययनसँगै भविष्यको रोजगारीको संसारमा प्रभावकारी प्रवेशको लागि आवश्यक व्यवहारिक ज्ञान, जीवन उपयोगी सीप तथा श्रम बजार सम्बन्धी जानकारी प्रदान गर्नु हो। साथै, विद्यालयपछिको जीवनमा युवाहरूलाई प्राविधिक तथा व्यवसायिक सीपसहित आत्मनिर्भर बनाउने दिशामा कार्यक्रम केन्द्रीत गरिएको छ।










Discussion about this post