दिपेन्द्र यादव /इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आ. व.२०८२/८३ मा शहरी बिकास मन्त्रालयबाट मात्र करिब झन्डै ९ करोड रुपैयाँको पूर्वाधार विकास योजना अगाडि सारिएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको पहल र समन्वयमा अघि बढाइएका योजनाहरू सडक, पुल, विद्यालय र अन्य आधारभूत पूर्वाधारसँग प्रत्यक्ष गाँसिएका छन्। स्थानीय तहमा यस्ता योजनाहरू कहिलेकाहीं घोषणामा मात्र सीमित हुने गुनासाहरू पाइन्छन्। तर, यसपटक योजना विवरण र लागत छुट्टाछुट्टै उल्लेख गरिएको देख्दा अपेक्षाकृत पारदर्शिता र स्पष्ट कार्यदिशा देखिन्छ।
पालिका अध्यक्ष आजादकाे पहलमा शहरी बिकास मन्त्रालयबाट मात्र सबैभन्दा ठूलो योजना वडा नं. १ स्थित बाउनी खोलामा बन्ने पुल हो, जसका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, कालोपत्रे सडक, विद्यालय स्तरोन्नति, झोलुङ्गे पुल मर्मत जस्ता योजनाहरूले गाउँको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने सम्भावना बोकेका छन्।
यता पालिका अध्यक्ष आजाद भन्छन् — “राजनीति होइन, सेवा मेरो प्राथमिकता हो।” यो भनाइ सुन्दा साधारण लागे पनि, योजनाहरूको विविधता, भूगोल र समुदायसम्बन्धी सन्तुलनले त्यो भनाइमा गम्भीरता छ भन्ने देखिन्छ।
समावेशी सोच र सन्तुलन विकास योजनाहरू हेर्दा धार्मिक, जातीय र भौगोलिक सन्तुलन मिलाइएको देखिन्छ। चिरौलीबाट मदरसा हुँदै जाने कृषि बाटो होस् वा काली मन्दिरदेखि हनुमान मन्दिरसम्मको सडक – यी परियोजनाहरूले सांस्कृतिक समावेशीता र समुदायको भावनालाई सम्मान गरेको स्पष्ट हुन्छ।
यस्ता योजनाले केवल विकास मात्रै होइन, सामाजिक सद्भाव र सहकार्यको वातावरण पनि निर्माण गर्न सक्छ।
योजना सफलताको साँचो: कार्यान्वयन र अनुगमन सोधिने प्रश्न भनेको – यी सबै योजना कसरी कार्यान्वयन हुन्छन्? सुन्दर योजनाहरू कागजमा मात्रै सीमित नहुन् भन्ने चाहना सबैको हुन्छ। त्यसैले गाउँपालिकाले अब ध्यान दिनुपर्ने कुरा गुणस्तरीय निर्माण, समयपालन, र नागरिक निगरानीको सुनिश्चितता हो।
गाउँपालिकाले योजना प्रभावकारी होस् भनी अनुगमन र मूल्यांकन प्रणाली सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ। यदि यो पक्ष सशक्त भयो भने, भोक्राहा नरसिंहले देखाएको बाटो अरू गाउँपालिकाका लागि पनि अनुकरणीय बन्न सक्छ।
गाउँको विकास, देशको आधार स्थानीय तहमा यस्ता ठूला योजनाहरूले देशकै विकासलाई गति दिने काम गर्छन्। किनकि गाउँ समृद्ध भयो भने मात्रै शहर सन्तुलित बन्छ।
अध्यक्ष आजादको पहलले गाउँमा भौतिक मात्र होइन, मनोवैज्ञानिक आशा र भरोसा पनि निर्माण गरेको छ।
सार्वजनिक गरिएको मुख्य योजना विवरण यस प्रकार छन्:
१. बाउनी खोला पुल निर्माण (वडा नं. १, शान्तिचोक–ढाेक स्कुल क्षेत्र): लागत: रु. ३ करोड
२. रामेश्वर खत्बेको घरदेखि लवटोलिया (वडा नं. २) हुँदै चिरौली चौक (वडा नं. ४) सम्मको सडक स्तरोन्नति: लागत: रु. ९ लाख
३. शारदा माध्यमिक विद्यालय परिसर स्तरोन्नति (वडा नं. १): लागत: रु. २५ लाख
४. महेन्द्र राजमार्ग हुँदै वडा नं. १, २ र ४ को कार्यालय जोड्ने अकहा चिरौली सडक स्तरोन्नति: लागत: रु. २५ लाख
५. चिरौलीदेखि जामिया इस्लामिया मदरसा हुँदै कृषि बाटो निर्माण (वडा नं. ४): लागत: रु. २५ लाख
६. काली मन्दिरदेखि हनुमान मन्दिरसम्म जोड्ने सडक स्तरोन्नति (वडा नं. ५ र ७ सिमाना): लागत: रु. ४० लाख
७. लकडाउन चौकदेखि मेहता सिसुवा टोल हुँदै चौकी जोड्ने सडक स्तरोन्नति (वडा नं. ८): लागत: रु. ४० लाख
८. जितुघाट झोलुङ्गे पुल मर्मत तथा नवीकरण: लागत: रु. ९ लाख
९. उलफत मियाको घरदेखि फ्याक्ट्री चौक हुँदै सुनसरी खोलासम्म ढलसहित कालोपत्रे सडक निर्माण: लागत: रु. ३ करोड
“राजनीति होइन, सेवा मेरो प्राथमिकता हो” – अध्यक्ष आजाद
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नागरिकसँग प्रतिक्रिया दिंदै भने, “हामी जनताको आवश्यकता र माग अनुसार योजनाहरू ल्याइरहेका छौं। पारदर्शी ढंगले काम गर्दै सेवा केन्द्रित प्रशासन सञ्चालन गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
उनले पूर्वाधार विकासका माध्यमबाट रोजगारी, शिक्षा, स्वास्थ्य, र यातायातमा प्रत्यक्ष लाभ पुर्याउने दाबी गरेका छन्। “जनताको विश्वास, इमानदार योजना कार्यान्वयन र संस्थागत समन्वयमार्फत हामी समृद्ध गाउँपालिका निर्माणको दिशामा अघि बढिरहेका छौं,” अध्यक्ष आजादले बताए।
नाेट: उल्लेखित समाचारमा शहरी विकास मन्त्राालय र तराई मधेस समृद्धि कार्यक्रम लगायतका अन्य याेजना तथा कार्यक्रम अर्काे समाचारमा प्रकाशित हुनेछ ।










Discussion about this post