इनरुवा – जीवनका अनेकौं चुनौतीका बीच एकल रूपमा अगाडि बढिरहेका महिलाहरूको सशक्तीकरण र आत्मनिर्भरता निर्माणका लागि लक्षित एक महिने सिप विकास तथा क्षमता अभिवृद्धि तालिम हालै सम्पन्न भएको छ।
नागार्जुन काठमाडौँस्थित सवाल नेपालको आयोजनामा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र गढी गाउँपालिकाको समन्वयमा आयोजित सो तालिमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा प्रदेशसभा सदस्य माननीय भगवती चौधरीको विशेष उपस्थिति थियो।
आत्मनिर्भरताको यात्रामा महिलाहरू
तालिममा सहभागी महिलाहरूलाई दैनिक प्रयोगमा आउने सरसफाइजन्य सामग्री – लुगा धुने सरफ, हर्पिक, फिनेल, हेन्डवास, कोलिन र स्यानिटाइजर बनाउने सीप प्रदान गरियो। यी सीपहरू महिलाहरूको आम्दानीको स्रोत बन्न सक्ने सम्भावनासहित आत्मनिर्भर जीवनशैलीको आधार बन्ने अपेक्षा गरिएको छ।
तालिममा सहभागी एक महिलाले उत्साहपूर्वक भनिन्, “पहिले यस्तो काम आफैं गर्न सकिन्छ भन्ने कल्पना थिएन। अब त आफूले बनाएको वस्तु बेच्न सकिन्छ भन्ने विश्वास पनि जागेको छ।”
प्रमुख अतिथिको प्रेरणादायी सम्बोधन
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय भगवती चौधरीले भनिन्,
“आजको यो सिप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम एकल महिलाहरूका लागि मात्र अवसर नभई आत्मनिर्भर जीवनको दिशातर्फको महत्त्वपूर्ण पाइला हो। समाजमा विभिन्न कारणले एक्लिएका महिलाहरूलाई सशक्त बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक छन्।”
उहाँले नीति निर्माण तहमा एकल महिलाहरूजस्ता संवेदनशील समूहलाई सधैं प्राथमिकतामा राखिएको उल्लेख गर्दै आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको विकासमार्फत समाज रूपान्तरणको सम्भावनाबारे प्रकाश पार्नुभयो।
सामूहिक प्रयासबाट समुन्नत समाज
उक्त तालिमले एकल महिलाहरूलाई मात्र नभई समाजलाई नै सकारात्मक दिशा दिने विश्वास गरिएको छ। गढी गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार, यस्ता कार्यक्रमले महिला सशक्तीकरणको जग बलियो बनाउँछन् र आर्थिक रुपान्तरणको ढोका खोल्छन्।
सवाल नेपालका कार्यक्रम संयोजकले जानकारी गराए अनुसार तालिमपछिको निरन्तर सहजीकरण, उत्पादनको बजार व्यवस्थापन र समूह निर्माणमार्फत महिलाहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने योजना रहेको छ।
एक महिना लामो यो सिप विकास तालिमले सहभागी महिलाहरूको जीवनमा नयाँ सम्भावनाको झिल्को देखाएको छ । यता उनीहरू केवल एकल महिला होइनन्, सीपयुक्त, सक्षम र आत्मनिर्भर जीवनको यात्रामा अघि बढिरहेकी महिला हुन्।










Discussion about this post