सुनसरी – भाेक्राहा नरसिंह गाउँपालिका अन्तर्गत चिरौली–प्रकाशपुर सडक खण्डको स्तरोन्नति कार्य यतिबेला तीव्र गतिमा अगाडि बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा आएको यो योजनाले जामिया इस्लामिया विद्यालयदेखि ब्रह्मथानसम्मको करिब ४.२ किलोमिटर सडकको कालोपत्रे कार्य एकतर्फी अन्तिम चरणमा पुर्याएको छ। भने प्राविधिक रितिक घिमिरेका अनुसार, यदि मौसमले साथ दियो भने अर्को तर्फकाे बाटो आइतबारभित्र सम्पूर्ण कार्य सम्पन्न हुने लक्ष्य लिइएको छ।
उक्त आयोजना मोरङ/खाम्पाचे जेभी काठमाडौंद्वारा ठेक्का लिइएको हो, जसको अनुमानित लागत रु. ६ करोड २९ लाख ६१ हजार ३२५ रुपैयाँ २० पैसा (भ्याट बाहेक) रहेको छ। योजानालाई चुस्त र पारदर्शी रुपमा कार्यान्वयन गर्न गाउँपालिकाका योजना शाखा प्रमुख प्रभुनारायण यादव, प्राविधिक अशोक साह, प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी तथा स्वयं गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद समेत नियमित अनुगमनमा खटिइरहेका छन्।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा चिरौली चोकदेखि जामिया इस्लामियासम्मको झन्डै २ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। हाल सम्पन्न भइरहेको खण्डपश्चात्, आउँदो आर्थिक वर्ष २०८२/८३ मा शहरी विकास मन्त्रालयको सहयोगमा ब्रह्मथानदेखि भोक्राहा–प्रकाशपुर सीमासम्म बाँकी सडक पनि कालोपत्रे गरिने जनाइएको छ। प्राविधिक सुनिल विक्रम शर्माका अनुसार, आवश्यक तयारीहरू अघि बढाइएको छ।
यस बहुवर्षीय योजना मार्फत वडा नं. १, २ र ४ का स्थानीय बासिन्दाहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। नियमित सास्ती र धूलो–धुँवाको पीडा झेलिरहेका जनताका लागि यो सडक निर्माण राहतको श्वास सरह बन्ने विश्वास व्यक्त गरिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद भन्छन्, “सडक मात्र यातायातको साधन होइन, यो आर्थिक विकास र सामाजिक रूपान्तरणको मेरुदण्ड हो। हामी जनताको करको पैसालाई अधिकतम पारदर्शिता र समर्पणका साथ सदुपयोग गर्न प्रतिबद्ध छौं। चिरौलीदेखि प्रकाशपुर हुँदै सीमासम्मको यातायात सहज बनाउनु हाम्रो प्राथमिकता हो, र हामी त्यसका लागि रात–दिन खटिरहेका छौं।”
उता नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँँपालिका सभापति युवराज दाहालले सामाजिक सञ्जाल मार्फत स्थानीय समाजसेवी, बुद्धिजीवी , राजनीतिकर्मी र किसानहरूलाई समेत बाटाे निर्माणमा स्थलगत अनुगमन गर्न अनुरोध गरेका थिए ।









Discussion about this post