इनरुवा । सुनसरीकाे बर्जु गाउँपालिका–५ निवासी सादाब अन्सारीले आफ्नी स्वर्गीय श्रीमती अफाफ आरिफको निधनपछिका घटनाहरूमा आफ्नाे परिवारप्रति लगाइएका आरोपलाई निराधार भन्दै गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसामु सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै अन्सारीले दाइजो र मानसिक यातनाका विषयमा उठाइएको आरोप सरासर झुटो र भ्रामक भएको बताएका हुन्।
प्रेस विज्ञप्तिमा सादाबले लेखेका छन्, “२०८१ साल वैशाख ८ गते पारिवारिक सहमतिमा अफाफ आरिफसँग मेरो विवाह भएको हो। विवाहपछि १३ महिनासम्म हामीले दुःख–सुख सँगै बाँडेका थियौँ। श्रीमती गर्भवती हुँदा उहाँको मानसिक स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्यो र हामीले तुरुन्तै विराटनगरको विराट टिचिङ्ग अस्पतालमा लगेर जाँच गरायौँ। चिकित्सकहरूले ‘बाइपोलार डिसअर्डर/साइकोसिस’ भनेर निदान गरेका थिए।”
सादाबका अनुसार अफाफलाई विगतदेखि नै मानसिक समस्या रहेको तथ्य अफाफको माइती पक्षले विवाहअघि लुकाएको थियो र पछि मात्र स्विकार गरिएको थियो। उनका अनुसार पत्नीको स्वास्थ्य अवस्थाका कारण उनीहरू मानसिक रूपमा निकै कठिन अवस्थामा पुगेका थिए र उपचारका लागि विराटनगरदेखि भारतसम्मका विशेषज्ञहरूसँग सम्पर्क गरिएको थियो।
“हामीले कुनैपनि बेला दाइजो मागेका छैनौँ,” प्रेस विज्ञप्तिमा उल्लेख छ, “हाम्रो विवाह स्पष्ट सर्तमा बिना दाइजो भएको हो। अहिले आएर दाइजो र प्रताडनाका आधारहीन आरोप लगाइनु दुर्भाग्यपूर्ण हो।”
सादाब अन्सारीले पोस्टमार्टम रिपोर्टमा आत्महत्या भएको पुष्टि भएको जानकारी पनि दिएका छन्। साथै, उनका अनुसार यस घटनामा झूटो आरोप सार्वजनिक गर्दै सामाजिक सञ्जाल र मिडियामा चरित्रहत्या गरिएको छ, जसले पीडित परिवार थप मानसिक पीडामा परेको छ।
उक्त घटनाबाट सादाब अन्सारीको एक नाबालक छोराले आमा गुमाएको छ। “यो क्षण भावना होइन, प्रमाणका आधारमा कुरा गरौं,” अन्सारीको अपील छ। उनले मेडिकल रिपोर्ट, उपचार विवरण र १३ महिनाको पारिवारिक जीवनसँग सम्बन्धित प्रमाणहरू सार्वजनिक गर्न तयार रहेको जनाएका छन्।
अन्त्यमा, उनले झुटा आरोप बन्द गर्न र संवेदनशील घटनालाई आधार बनाएर परिवारको सामाजिक प्रतिष्ठामाथि आघात नगर्न सबै पक्षमा आग्रह गरेका छन्।










Discussion about this post