इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँसभाबाट विभिन्न शाखा र सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सात जना उत्कृष्ट कर्मचारी तथा व्यक्तित्वहरूलाई प्रमाणपत्र, दोसल्ला, अबिर टीका र नगद रु. २५,००० सहित औपचारिक सम्मान प्रदान गरिएको छ।
स्वास्थ्य शाखाका प्रमुख हिरालाल साहलाई जनस्वास्थ्य सेवा प्रवाहमा दीर्घकालीन समर्पण र प्रभावकारी कार्य सम्पादनको आधारमा ‘उत्कृष्ट स्वास्थ्य कर्मचारी’ सम्मान प्रदान गरिएको हो।
शिक्षक कृष्ण विष्टलाई स्थानीय शिक्षा क्षेत्रमा समर्पित शिक्षण, अनुशासन र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट शिक्षा सम्मान’ प्रदान गरिएको छ।
लेखा शाखाका कर्मठ कर्मचारी तोसल दाहाललाई वित्तीय पारदर्शिता, उत्तरदायित्व र कार्यकुशलताका लागि ‘उत्कृष्ट लेखा कर्मचारी सम्मान’बाट विभूषित गरिएको हो।
सञ्जिव उराँवलाई प्रशासनिक तथा सेवामूलक कार्यहरूमा देखिएको प्रतिबद्धता र योगदानको आधारमा सम्मान गरिएको छ।
गिता मेहतालाई नियमितता, इमान्दारिता र उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित गरिएको हो।
हलुका सवारी चालक शिवनारायण उराँवलाई लामो समयदेखि सुरक्षित, समयमै र जिम्मेवार सवारी सेवा उपलब्ध गराएको कदर गर्दै गाउँपालिकाले सम्मान प्रदान गरेको हो।
त्यसैगरी जनप्रतिनिधि तर्फबाट उत्कृष्ट जनप्रतिनिधि सम्मान कार्यपालिका सदस्य रामेश्वर खत्वेले पाएका छन् ।
यस्तै पत्रकार सुरेन्द्र मेहतालाई सञ्चार सेवा मार्फत जनचेतना अभिवृद्धि, समाज रूपान्तरण र सत्य सूचना प्रवाहमा पुर्याएको योगदानको कदर स्वरूप सम्मानित गरिएको हो। नेपाल पत्रकार महासंघ, सुनसरीका कार्यक्रम समिति सदस्य समेत रहेका मेहतालाई गाउँपालिकाका अध्यक्ष अजमल अख्तर, उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले संयुक्त रूपमा दोसल्ला ओढाई, सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा पत्रकार मेहताको दीर्घ योगदानले स्थानीय सञ्चार जगतलाई नै प्रेरणा मिलेको भन्दै प्रशंसा गरिएको थियो।
सातै जना व्यक्तित्वहरूलाई प्रदान गरिएको सम्मानले स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर अझ सुदृढ हुने अपेक्षा पालिकाले व्यक्त गरेको छ।










Discussion about this post